वराहक्षेत्रः उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनालाई कृषि उत्पादन, रोजगारी सिर्जना र ग्रामीण अर्थतन्त्रसँग एकीकृत गर्दै जनसङ्ख्या पलायन न्यूनीकरणको माध्यम बनाउनुपर्ने बताएका छन् ।
सुनसरी–मोरङ सिँचाइ परियोजनाको स्थलगत अध्ययन तथा परियोजनाबाट प्रभावित स्थानीयवासी र जल उपभोक्ताका समस्या तथा गुनासा सुन्ने क्रममा मन्त्री श्रेष्ठले सिँचाइलाई केवल नहर निर्माणको विषयका रूपमा हेर्न नहुने बताउनुभयो ।
सिँचाइमा गरिएको लगानीको वास्तविक प्रतिफल कृषि उत्पादन र उत्पादकत्व वृद्धिमार्फत् प्राप्त हुने भएकाले सिँचाइसँगै कृषि उत्पादन, किसानका कार्यक्रम र बजार व्यवस्थापनलाई समेत एकीकृत रूपमा अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।
मन्त्री श्रेष्ठका अनुसार सुनसरी–मोरङ सिँचाइ परियोजनाले मात्रै वार्षिक १४ अर्ब रुपैयाँभन्दा बढी मूल्य बराबरको कृषि उत्पादनमा योगदान पुर्याउँदै आएको छ ।
सुनसरीको चतरामा कोशी नदीले ठूलो परिमाणमा गेग्रान बगाएर ल्याउने र नदीको धारमा आएको परिवर्तनका कारण सुनसरी–मोरङ सिँचाइ प्रणालीको इन्टेक क्षेत्रमा पानीको उपलब्धता प्रभावित हुँदै आएको छ । चतरा पुल निर्माणपछि नदीको मूल प्रवाह दायाँतर्फ सरेकाले बायाँ किनारामा रहेको इन्टेक क्षेत्रमा पर्याप्त पानीको प्रवाह कायम गर्न थप चुनौती देखिएको परियोजनाको भनाइ छ ।





