विराटनगरः हिजो बसेको प्रदेशसभा बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तेस्रो पटक विश्वासको मत पाउनुभएको छ । कार्कीको पक्षमा ५७ मत परेको छ । नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ प्रदेशसभा सदस्यले कार्कीको पक्षमा मतदान गरेका हुन् ।
विश्वासको मतको विपक्षमा नेपाली कांग्रेसका २२ प्रदेशसभा सदस्यले मतदान गरेका छन् । कांग्रेसका २९ सदस्य रहे पनि सबै सदस्य मतदानमा सहभागी भएनन् ।
राप्रपाका सभामुखसहित पाँच प्रदेशसभा सदस्यले मतदान गरेनन् । जनता समाजवादी पार्टीकी एक मात्र प्रदेशसभा सदस्य निर्मला लिम्बू पनि बैठकमा अनुपस्थित हुनुहुन्थ्यो ।
९३ सदस्यीय कोशी प्रदेशसभामा एक सदस्यले राजीनामा दिएपछि हाल ९२ सदस्य छन् । सोमबारको बैठकमा ८३ जना प्रदेशसभा सदस्य उपस्थित थिए ।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले नै दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन लबिङ सुरु गरेका थिए । कोशी प्रदेश इन्चार्ज शेरधन राईकै नेतृत्वमा मुख्यमन्त्री कार्कीका विरुद्ध हस्ताक्षर अभियानसमेत चलेको थियो ।





