विराटनगरः नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनामा कोशी प्रदेशमा क्रियाशील पत्रकारहरूसँग बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ ।
नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयले बीमा क्षेत्रका समस्याहरू बुझेर समाधान खोज्न पत्रकारहरूसँग अन्तरक्रिया गरेको हो । अन्तक्रिया कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सचिन राईले नेपाल बीमा प्राधिकरणको परिचय, प्रमुख कार्यक्षेत्र, बीमाका प्रकार, बजारको अवस्था, बीमा प्रवद्र्धनका लागि गरिएको प्रयास र पत्रकारसँग प्राधिकरणको अपेक्षा लगायतको विषयमा जानकारी दिनुभएको थियो ।
नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख राजेन्द्र महर्जनले पत्रकारहरूले तथ्यपरक, आधिकारिक, सन्तुलित र जनहितमुखी बीमा सम्बन्धी गतिविधिलाई आम नागरिक माझमा लैजान आग्रह गर्नुभयो । उहाँले बीमासम्बन्धी सही र विश्वसनीय सूचना सर्वसाधारणसम्म पुर्याउन पत्रकारको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
सहभागीहरूले बीमासम्बन्धी खोजमूलक पत्रकारिता गर्ने पत्रकारलाई पुरस्कृत गर्नुपर्ने र आवश्यक मात्रामा बीमाका विषयमा जनचेतनामूलक सूचना सम्प्रेषण गनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा सहभागी पत्रकारहरूले जीवन बीमा र निर्जीवन बीमा क्षेत्रमा देखिएका समस्याहरू जानकारी गराउँदै समाधानका उपायका विषयमा सुझाव दिएका थिए ।





