बिर्तामोडः आफ्ना दिवङ्गत बुबा र आमाको स्मृतिमा हल्दीबारी माध्यमिक विद्यालयका पूर्वविद्यार्थीले ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । हल्दीबारी गाउँपालिका–२ निवासी स्वर्गीय टेकबहादुर चम्लागाईं र भोलादेवी चम्लागाईंको स्मृति तथा सम्मानमा उनीहरूका सन्तानले विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् ।
विद्यालयमा आयोजित कार्यक्रममा पूर्वविद्यार्थी ज्ञानेन्द्रकुमार चम्लागाईं, फडेन्द्रकुमार चम्लागाईं, मुनादेवी चम्लागाईं (थापा), चम्पादेवी चम्लागाईं (ओली) र माया चम्लागाईं (थापा) ले ५ लाख रुपैयाँको चेक विद्यालयका प्रधानाध्यापक टङ्कबहादुर पाख्रिनलाई हस्तान्तरण गरेका हुन् ।
विद्यालयका अनुसार अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट विद्यालयका उत्कृष्ट विद्यार्थीलाई प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गरिनेछ । कक्षा ६ देखि १० सम्म अध्ययनरत नेपाली र अंग्रेजी माध्यमका विद्यार्थीमध्ये प्रत्येक कक्षाबाट एक–एक जनाका दरले वार्षिक १० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने व्यवस्था गरिएको विद्यालयले जनाएको छ ।
चेक हस्तान्तरण कार्यक्रममा बोल्दै ज्ञानेन्द्रकुमार चम्लागाईंले आफूहरूले अध्ययन गरेको विद्यालयका विद्यार्थीको शैक्षिक यात्रामा सहयोग पुगोस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक पाख्रिनले जन्मदाताको नाममा अक्षयकोष स्थापना गरी विद्यालयको शैक्षिक विकासमा योगदान गर्नु अनुकरणीय कार्य भएको बताउनुभयो ।





