बेलगाछीः सुन्दर सामुदायिक सेवा सदन सुन्दरहरैँचाले विश्व बाल अधिकार दिवसको अवसरमा आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा सुन्दरहरैंचा–७ गोठगाउँमा रहेको ज्ञानज्योति इङ्लिस स्कुल पहिलो भएको छ । सो विद्यालयका प्रतियोगी अश्विन पराजुली प्रतियोगितामा पहिलो हुनुभएको थियो ।
रणकाली मन्दिर सुन्दरहरैंचा–७ बेलगाछीमा भएको प्रतियोगितामा सुकुना माध्यमिक विद्यालयकी दिपशिखा खनालले दोस्रो स्थान हासिल गर्नुभएको छ । माउन्ट मकालु आवासीय माध्यमिक विद्यालयकी मोनिका सुवेदी तेस्रो हुँदा द राइजिङ इङ्लिस बोर्डिङ स्कुलकी सोनु लिम्बूले सान्त्वना स्थान प्राप्त गर्नुभएको छ ।
प्रतियोगितामा १७ विद्यालयका प्रतियोगीले ‘युवा विदेश पलायनः समस्या, असर र समाधानका उपायहरू’ विषयमा आफ्ना धारणा राखेका थिए ।
सुकुना बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख चन्द्रमणि राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समाजसेवी टेकनाथ पौडेल, पुस्तक व्यवसायी संघ मोरङका अध्यक्ष दुर्गाप्रसाद घिमिरेलगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको निर्णायकमा अमृतप्रसाद आचार्य, गुरुप्रसाद अधिकारी र बालकृष्ण गौतम रहनुभएको थियो ।
समाजका अध्यक्ष पीतकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव जीवन राईले गर्नुभएको थियो ।





