काठमाडौंः साउन महिनामा सुनसरी र सिरहामा भएका छुट्टाछुट्टै घटनाको छानबिन गर्न बनेका दुई समितिले आन्दोलनमा बाहिरी घुसपैठ नभएको निष्कर्ष निकालेका छन् । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले चलाएको गोलीबाटै चार युवाको ज्यान गएको निष्कर्ष प्रतिवेदनको छ ।
१० साउनमा सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जबाट शुरु भएको विवाद अन्य जिल्लरूमा फैलिँदा बाहिरी घुसपैठ भएको हुन सक्ने र सुरक्षाकर्मी बाहेकबाटै गोली चलेको भन्ने किसिमका भ्रमहरू फैलिएका थिए । तर, दुवै समितिले प्रतिवेदनमा नेपाली सुरक्षाकर्मीले चलाएको गोलीका कारण चार युवाको मृत्यु भएको निष्कर्ष निकालेको हो ।
सुनसरीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट जम्मा २० राउन्ड गोली चलेको पाइएको छ । दुवैले चलाएको गोलीबाट तीन जनाको मृत्यु भएको जनाइएको छ ।
त्यसैगरी, सिरहामा पनि प्रहरीले चलाएको गोलीका कारण गणेश यादवको मृत्यु भएको निष्कर्ष समितिले निकालेको छ । सिरहामा घटना भएको ठाउँमा जम्मा ९ राउन्ड गोली चलेको समितिको प्रतिवेदनमा उल्लेख छ । जसमध्ये ७ राउन्ड डमी र २ राउन्ड पेस्तोलबाट गोली चलेको बताइएको छ ।
पेस्तोलबाट चलेको एउटा गोलीबाट गणेश यादवको मृत्यु भएको र अर्को गोलीबाट अर्का व्यक्ति घाइते भएको प्रतिवेदनमा उल्लेख छ ।
सिरहामा पनि प्रहरी जवानलाई पनि गोली लागेको दाबी गरिएको थियो । तर छानबिन समितिले ती जवानलाई गोली नलागेको जनाएको छ ।
कप्तानगञ्ज घटनाबारे गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापा नेतृत्वको समितिले छानबिन गरेको थियो । सिरहा घटनाको छानबिन गर्न गृहका अर्का सहसचिव पुष्पराज शाही नेतृत्वमा समिति बनेको थियो । दुवै समितिले हिजो प्रतिवेदन बुझाएका हुन् ।
दुवै घटनामा गोली चलाउने सुरक्षा अधिकारीलाई कारबाहीको सिफारिश गरिएको छ । कारबाही सिफरिश गरिए पनि कस्तो कारबाही भनेर प्रष्ट रूपमा उल्लेख भने गरिएको छैन ।





