लेटाङः मोरङको लेटाङ नगरपालिका–१ राजारानीमा निर्माण सम्पन्न भएको अन्तरधार्मिक शान्ति पार्कको उद्घाटन २५७० औँ बुद्ध जयन्तीको अवसर पारेर गरिएको छ ।
लेटाङ नगरपालिकाका नगरप्रमुख भुपेन्द्रकुमार लावतीले पार्कको विधिवत उद्घाटन गर्नुभएको हो । कार्यक्रममा विभिन्न धर्मका धर्मगुरु, जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो । नेपालमा दशक लामो सशस्त्र द्वन्द्वपछि शान्ति स्थापना र सामाजिक सद्भावको आवश्यकता महसुस गरिएका बेला लेटाङबाट शुरु गरिएको सामुदायिक शान्ति अभियानको मूर्त रूपका रूपमा यो पार्क निर्माण गरिएको बताइएको छ ।
वि.सं. २०६२ माघ १ गतेदेखि शुरु भएको अन्तरधार्मिक शान्ति अभियानले समुदायस्तरमा धार्मिक सहिष्णुता, मेलमिलाप र सामाजिक एकताको पक्षमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको थियो । सोही अभियानलाई स्थायी स्वरूप दिन तीन वर्षको अथक प्रयासपछि अन्तरधार्मिक शान्ति पार्क निर्माण गरिएको नगर प्रमुख लावतीले बताउनुभयो ।
सो अन्तरधार्मिक पार्कमा हिन्दू, बौद्ध, किराँत, इसाई र इस्लाम धर्मलाई एउटै स्थानमा समेटिएको छ । प्रत्येक धर्मका लागि छुट्टाछुट्टै पूजा–आराधनाका संरचना निर्माण गरिनुका साथै पार्कलाई सेतो रङले सजाइएको छ ।
पार्कको माथिल्लो भागबाट तराई क्षेत्रको मनोरम दृश्यावलोकन गर्न सकिने व्यवस्था गरिएको छ भने धार्मिक तथा सांस्कृतिक विविधताको अध्ययन र अनुसन्धानका लागि पनि यो स्थल उपयोगी बन्ने अपेक्षा गरिएको छ ।
पार्क निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदनअनुसार कुल ९ करोड ४ लाख ७८ हजार १ सय ४४ रुपैयाँ लागत अनुमान गरिएको थियो । खुला बोलपत्रमार्फत् ६ करोड ८ लाख ८६ हजार ७ सय ११ रुपैयाँमा ठेक्का सम्झौता भएर निर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न भएको हो । निर्माण व्यवसायीले २०८३ वैशाख १४ गते नै निर्माण कार्य सम्पन्न गरेको जनाइएको छ ।
पार्क क्षेत्रमा बनभोज, राजनीतिक गतिविधि, धार्मिक प्रचारप्रसार, धूमपान तथा वातावरण प्रदूषण हुने गतिविधि निषेध गरिएको पालिकाले जनाएको छ ।
कार्यक्रममा विभिन्न धर्मका साझा सन्देशहरू पनि प्रस्तुत गरिएको थियो ।




