काठमाडौंः आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत काठमाडौंमा भइरहेको सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई २५७ रनको लक्ष्य दिएको छ । आसिफ र आरिफ शेख दाजुभाइ ब्याटिङमा चम्किँदा नेपालले सो लक्ष्य दिन सफल भएको हो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको हो । जसमा नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ९४ रन बनाए भने अर्जुन कुमालले ४८, आरिफ शेखले ४३ र उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३३ रन जोडे ।
आसिफले ९७ बल खेल्दै ७ चौका र ५ छक्का प्रहार गरे । ठूलो सट हान्ने चक्करमा ३५ औं ओभरको तेस्रो बलमा आसिफ बाउन्ड्री लाइन नजिक क्याचआउट भएका थिए । ओडीआईमा आसिफको यो १४ औं अर्धशतक हो । ६६ ओडीआई खेल खेल्दा आसिफले एक शतक र १४ अर्धशतक बनाएका छन् ।
उता ओपनर विनोद भण्डारी दोस्रो ओभरमा खाता नखोली आउट भएपछि आसिफले अर्जुन कुमालसँग मिलेर दोस्रो विकेटका लागि १२३ रनको साझेदारी गरेका थिए ।
ओमानका लागि नदिम खानले सर्वाधिक ३ तथा सकिल अहमदले २ विकेट लिएका थिए ।




