Friday, December 19, 2025
Homeकृषिसुन्दरहरैंचाको पचहत्तरबिघेमा हात्ती आतङ्क, भत्कायो घर, कृषि बाली नष्ट

सुन्दरहरैंचाको पचहत्तरबिघेमा हात्ती आतङ्क, भत्कायो घर, कृषि बाली नष्ट

विराटचोकः केही दिन अघिदेखि मोरङको सुन्दरहरैंचा नगरपालिका क्षेत्रका बासिन्दालाई आतङ्कित बनाइरहेको जङ्गली हात्तीको समूहले आज राति पनि घर भत्काउनुका साथै घरभित्र थन्क्याइएको अन्न र खेतमा लगाइएको कृषि बालीमा क्षति पुर्याएको छ ।

सुन्दरहरैंचा–७ पचहत्तरबिघेमा तुलसी पराजुलीको घर जङ्गली हात्तीको बथानले भत्काउँदा सो घरमा डेरा गरी बस्ने निरा खनालको परिवारको अनाजमा क्षति पुर्याएको छ । घरको भान्सा कोठा हात्तीले भत्काउनुका साथै त्यहाँ रहेका सबै सामान फुटाइदिएको छ ।

हात्तीले आज राति थप क्षति पुर्याउन सक्ने डरले खनाल परिवारले अनाज सुरक्षित स्थानमा सारेको छ । एक तले कच्ची घरको अगाडिबाट हात्तीले घर भत्काउन शुरु गरेपछि आफूहरु पछाडिबाट राति नै भागेको पीडित निरा खनालले बताउनुभयो । रातभर छिमेकको घरमा बसेर हात्ती जङ्गलतर्फ गइसकेपछि बिहान ६ बजेमात्रै घर फर्किएको उहाँ बताउनुहुन्छ ।

स्थानीय महेश उप्रेती हात्तीको बथान ठूलो भएकाले चाहेर पनि राति धपाउन नसकिएको बताउनुहुन्छ । २६ वटा हात्ती आफूले गनेको बताउँदै उहाँले सो समूहमा अरु पनि हात्ती रहेको हुन सक्ने तर अँध्यारोमा सबै नदेखिएको हुन सक्ने बताउनुभयो ।

‘हामीले घरको छतबाट निरीह भएर हात्तीले घर भत्काएको हेरिरहनुपर्याे,’ छिमेकी बिन्दा पराजुलीले भन्नुभयो, ‘मध्यरातमा हात्तीको हुल आएपछि बाहिर निस्कन सक्ने अवस्था थिएन । पीडित परिवारले गरेको हार गुहार निरीह भएर सुनिरह्यौँ । परिवार सुरक्षित स्थानमा गएपछि सबैले आआफ्नो घरबाट हात्तीको विध्वंस हेर्ने काममात्रै भयो ।’

स्थानीयका अनुसार हात्तीले पचहत्तर बिघे क्षेत्रमा लगाएको तोरी, केरा र उखुबालीमा क्षति पुर्याएको छ ।

हिजो पनि सुन्दरहरैंचा–७ को पुष्पाञ्जली चोक दक्षिण सन्तोष  खतिवडाको घरमा हात्तीले क्षति पुर्याएको थियो ।

अघिल्लो साता सुन्दरहरैंचा–१२ का ६० वर्षीय भवनाथ घिमिरेको हात्तीको आक्रमणमा परी ज्यान गएको थियो ।

हात्तीको आक्रमणबाट सुन्दरहरैंचाका ६० वर्षीय घिमिरेको निधन

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments