विराटचोकः जङ्गली हात्तीको आक्रमणमा परी मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १२ संगम टोल निवासी ६० वर्षीय भवकृष्ण घिमिरेको ज्यान गएको छ ।
स्थानीयका अनुसार आज बिहान ५ बजे दूध बेच्न जाँदै गर्दा घिमिरेमाथि हात्तीले आक्रमण गरेको थियो । स्थानीयका अनुसार घटनास्थलमै घिमिरेको मृत्यु भएको थियो ।
घटनापछि हात्तीको बथान खोर्साने हुँदै चार कोशे जङ्गलतर्फ गएको स्थानीयले बताएका छन् । मोरङको केराबारी, लेटाङ, बेलबारी र सुन्दरहरैँचा क्षेत्रमा पछिल्लो समय हात्तीको चहलपहल बढिरहेको छ ।
लामो समयदेखि झापा, मोरङ र सुनसरीको जङ्गलमा रहेका हात्तीमध्ये केही हात्ती भारततिर गए पनि केही अझै नेपालमै रहेका छन् ।







