विराटचोकः रेडियोग्राफी र रेडिएसन थेरापीबारे चेतना फैलाउने उद्देश्यले आज ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तरराष्ट्रिय रेडियोलोजी दिवस’ विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
प्रत्येक वर्ष ८ नोभेम्बरमा विश्व रेडियोग्राफी दिवस मनाइने गरिन्छ ।
सन् १८९५ नोभेम्बर ८ का दिन जर्मनीका वैज्ञानिक विल्हेल्म रोईन्टजेनले रेडियोग्राफीको आविष्कार गरेका थिए । वैज्ञानिक रोईन्टजेनले गरेको विकिरण एक्स–रे को आविष्कारप्रति सम्मान दिन प्रत्येक वर्ष उक्त दिवस विश्वभर मनाइँदै आइएको छ ।
रेडियोलोजीमा विकिरण प्रयोग गरेर गरिने जाँचमा एक्सरे, सिटी स्क्यान, फ्लोरोस्कोपी, न्यूक्लियर मेडिसीन, मेमोग्राफी पर्ने गरेका छन् । विकिरण प्रयोग नगरी गरिने जाँचमा अल्ट्रा साउण्ड अर्थात् भिडियो एक्सरे, एमआरआईलगायत पर्ने गरेका छन् ।
यस वर्ष ‘इमेजिङ उत्कृष्टतामार्फत स्वास्थ्य सेवा सशक्तिकरण’ भन्ने मूल नाराका साथ विश्वभर १३० औँ विश्व रेडियोग्राफी तथा अन्तरराष्ट्रिय रेडियोलोजी दिवस मनाउन लागिएको हो ।







