विराटचोकः नेपाल दशनामी समाजले दशनामी सन्यासी समुदायका १० वटा परम्परागत थर दलित सूचीबाट हटाउन सरकारसँग माग गरेको छ । समाजले राष्ट्रिय दलित आयोगमार्फत् नेपाल सरकारसमक्ष पेस गरेको सिफारिशमा उल्लेखित थरहरू सच्याउन तथा आवश्यक संशोधन गर्न आग्रह गरेको हो ।
समाजले गिरी, पुरी, भारती, वन, अरण्य, पर्वत, सागर, तीर्थ, आश्रम र सरस्वती गरी १० थर दशनामी सन्न्यासी समुदायको ऐतिहासिक तथा परम्परागत पहिचानसँग सम्बन्धित रहेको जनाएको छ । ती थरहरू दलित समुदायको थर सूचीमा समावेश हुँदा दशनामी समुदायको पहिचानमा अन्योल सिर्जना भएको समाजको भनाइ छ ।
नेपाल दशनामी समाजका कार्यवाहक महासचिव अशोक गिरीले हस्ताक्षर गरेको पत्रमा राष्ट्रिय समावेशी आयोगबाट नेपाल सरकारसमक्ष पेश गरिएको दलित समुदायको थर सूचीकरणसम्बन्धी सिफारिशमा दशनामी सन्यासी समुदायका उक्त १० थरसमेत समावेश भएको उल्लेख छ । समाजले उक्त सूची संशोधन गरी दशनामी समुदायका थरहरू हटाउन आग्रह गरेको छ ।
समाजले आफ्नो मागको समर्थनमा ऐतिहासिक, सांस्कृतिक तथा कानुनी आधारसमेत प्रस्तुत गरेको छ । पत्रमा आठौँ शताब्दीदेखि आदि जगद्गुरु शङ्कराचार्यको नेतृत्वमा वैदिक सनातन तथा शैव धर्मको रक्षा र दार्शनिक पुनर्जागरणका लागि स्थापना गरिएका चार मठ र दस सन्न्यास उपाधिसँग दशनामी परम्परा जोडिएको उल्लेख छ । गिरी, पुरी, भारती, वन, अरण्य, पर्वत, सागर, तीर्थ, आश्रम र सरस्वती यी दश सन्न्यास उपाधि रहेको समाजको दाबी छ ।
नेपालको इतिहास, मुलुकी ऐन तथा विभिन्न ऐतिहासिक लालमोहर, सिक्का र अभिलेखहरूमा दशनामी सन्न्यासीहरूको विशिष्ट आध्यात्मिक, सामाजिक तथा सांस्कृतिक पहिचान उल्लेख रहेको पत्रमा जिकिर गरिएको छ ।
समाजले नेपालको संविधानको धारा २६४ बमोजिम गठित राष्ट्रिय समावेशी आयोगले समेत दशनामी सन्न्यासी समुदायको ऐतिहासिक पृष्ठभूमि, सामाजिक अवस्था र विशिष्ट पहिचानको अध्ययन गरी खस–आर्य समुदायअन्तर्गत सूचीकृत गर्न नेपाल सरकारसमक्ष सिफारिश गरिसकेको विषयलाई पनि आफ्नो मागको आधार बनाएको छ ।
पत्रमा नेपालका विभिन्न जातजाति तथा समुदायको थर ऐतिहासिकतासँग सम्बन्धित हुने भएकाले एउटै थरका आधारमा समग्र दशानामी सन्न्यासी समुदायको ऐतिहासिक पहिचानलाई दलित सूचीमा समावेश गर्दा मौलिक अस्तित्व, पहिचान र संवैधानिक अधिकारमा असर पर्न सक्ने उल्लेख गरिएको छ ।
यस विषयमा नेपाल दशनामी समाजले राष्ट्रिय दलित आयोगका अध्यक्षसमक्ष समेत छुट्टै निवेदन पेश गरेको छ । समाजले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय समावेशी आयोगलाई समेत पत्रको बोधार्थ पठाएको जनाएको छ ।
समाजका कार्यवाहक महासचिव अशोक गिरीले हस्ताक्षर गरेको पत्रमा दशनामी सन्न्यासी समुदायको ऐतिहासिक पहिचान र परम्पराको सम्मान गर्दै सम्बन्धित निकायले आवश्यक अध्ययन गरी संशोधन प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ ।





