सुन्दरहरैंचाः शनिबारदेखि शुरु भएको पाँचौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अव्यवस्थित देखिएको छ ।
जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले उद्घाटन गरेको प्रतियोगिता सुन्दरहरैंचा–९ स्थित इन्द्रपुर रंगशालामा सञ्चालन भइरहेको छ ।
शनिबार ११ बजे शुरु हुने भनिएको प्रतियोगिताका लागि १० नबज्दै विद्यार्थी रंगशालामा पुगेका थिए । तर साढे १२ बजेभन्दा पनि ढिलो कार्यक्रम शुरु भयो । ११ नबज्दै नगरप्रमुख र नगरउपप्रमुखको पनि उपस्थिति भइसकेको थियो ।
‘अब रंगशालाको पूर्वतर्फबाट खेलाडीको मार्चपास हुनेछ’ भनिएपछि उत्साहपूर्वक खेलाडी र विद्यालयका शिक्षकहरु मार्चपासका लागि रंगशालाको पूर्वतर्फ लागेका थिए । रंगशालाको पश्चिमतर्फ बनाइएको मञ्चको छेउमा बसेका विद्यार्थीहरु दौडको लागि बनाइएको ट्रयाक नबिग्रिने गरी छेउबाट रंगशालाको दक्षिणतर्फ हुँदै रंगशालाको पूर्वतर्फ गएका थिए । तर पूर्वतर्फ गएर उभिएको धेरै समयसम्म पनि उद्घोषकले मार्चपासको लागि अनुमति दिएनन् । आधा घण्टासम्म उभिएका विद्यार्थीमध्ये धेरैजसो गलेपछि भुइँमै बसे ।
मञ्चमा त्यसपछि आसन ग्रहण शुरु भयो । कार्यक्रमको अध्यक्षता ग्रहण गर्ने क्रममा नगरप्रमुखले शुरुमै मन्तव्य दिएर त्यसपछि अन्य अतिथिको आसन ग्रहण हुन थालेपछि मार्चपासको लागि गएका विद्यार्थी खेलमैदानको बीचैबाट रंगशालाको पश्चिमतर्फ लागे । सबै विद्यार्थी पश्चिमतर्फ आइसकेपछि उद्घोषकले विद्यार्थीलाई मार्चपासको लागि अनुमति दिए ।
हतारहतारमा विद्यार्थीले मार्चपास गरे । मार्चपास गर्दा कतिपय विद्यालय मार्चपासमा सहभागी नै भएनन् भने पहिले उत्साहका साथ १० जनाभन्दा बढी शिक्षकसहित मार्चपासका लागि तयार भएको सुकुना मावि मार्चपासमा आंशिक सहभागी भयो । मार्चपासको अन्तिम बिन्दुमा मात्रै उसले सहभागिता जनायो ।
प्रभात किरण स्कुलको स्वागत नृत्यमा आधामात्रै गीत बजेपछि नृत्यमा सहभागी विद्यार्थी आधा नाच प्रस्तुत गरेर फर्किनुमा पनि आयोजकले व्यवस्थित साउण्ड बक्स वा प्राविधिकको व्यवस्था नगरेको सहभागीले आरोप लगाए ।
उता, खेल शुरु हुने क्रममा पनि खेलमैदान अव्यवस्थित थियो । दौड, भाले जुधाइ, चकलेट दौड, हिसाब दौडलगायतका प्रतियोगिता सञ्चालनको लागि सहभागी बोलाएपछि प्रतियोगी प्रतियोगिताका लागि जाँदा त्यहाँ न आयोजकको उपस्थिति देखिन्थ्यो, न निर्णायकको । आयोजक त्यहाँ पुगे पनि खेलाडीको लिस्ट नबोकी जाने गरेको र फेरि गएर लिस्ट ल्याउनुपरेको दृश्य देखेपछि शिक्षकहरुले प्रतिक्रिया दिइरहेका थिए, यो कस्तो खालको रनिङ शिल्ड प्रतियोगिता हो ?
भाले जुधाइ, चकलेट दौड, हिसाब दौडका लागि प्रतियोगी लामो समय उभिएपछि बल्ल प्रतियोगिता शुरु हुन्थ्यो । बिहान १० नबजी खेलमैदान पुगेका विद्यार्थी भोकै र तिर्खै देखिन्थे । खेलाडीको लागि आयोजकले खाजा र पानीको उचित व्यवस्थापन गरेको थिएन । सहभागी केही विद्यालयले भने विद्यार्थीलाई बिस्कुट बाँडिरहेका थिए ।
जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले मञ्चबाट र सुन्दरहरैंचा नगरपालिकाको नगर खेलकुद समितिका सदस्य सचिव खड्ग श्रेष्ठले प्रतियोगिता स्थलमा प्रयोग गरेको बोलीबाट आफूहरु निराश भएको शिक्षकहरु प्रतिक्रिया दिइरहेका थिए ।
राईले ‘शिक्षकहरुको व्यवहार देख्दा आफ्नो मन कुँडिएको’ बताएका थिए । श्रेष्ठले ‘विद्यार्थीलाई सिकाउने विद्वान शिक्षकहरुलाई हामीले सिकाउन नपरोस्, विद्यार्थीलाई अनुशासन सिकाउने शिक्षकहरु आफू अनुशासनमा बस्नुहोस्’ भनेका थिए ।
उद्घाटन कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि र वडाध्यक्षहरु उपस्थित थिएनन् ।
प्रतियोगिता १० गते समापन हुनेछ ।
सुन्दरहरैंचामा पाँचौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु