सुन्दरहरैंचाः शनिबार मोरङको सुन्दरहरैंचा नगरपालिकामा पाँचौँ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिता पुस १० गते सम्पन्न हुनेछ ।
प्रतियोगितामा नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागिता रहने भएको छ । जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले एक कार्यक्रमका बीच इन्द्रपुर रंगशालामा खेलको उद्घाटन गरेका छन् ।
नगर खेलकुद विकास समिति सुन्दरहरैंचाको आयोजनामा शुरु भएको खेलकुदले सुन्दरहरैंचा क्षेत्रका विद्यार्थीहरुको प्रतिभा र क्षमतालाई उजागर गर्ने भएकाले नगरपालिकाले प्रतियोगिताका लागि निरन्तर सहयोग उपलव्ध गराउने नगरप्रमुख केदारप्रसाद गुरागाईले बताए ।
नगरप्रमुख गुरागाईले १९ वर्ष मुनिका फुटबल खेलाडीहरुलाई तालिमको व्यवस्था नगरपालिकाले गर्ने प्रतिबद्धता जनाए ।
प्रतियोगितामा नगरक्षेत्रमा रहेका ४४ वटा विद्यालयहरु सहभागी भएका उपप्रमुख अकली चौधरीले बताइन् ।
शनिबार दौड, भाले जुधाइ, चकलेट दौड, हिसाब दौड लगायतका प्रतियोगिता भएका थिए ।
उद्घाटन कार्यक्रममा कोशी प्रदेशका पूर्व राज्यमन्त्री राजकुमार ओझा, सुन्दरहरैचा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाई र कार्यपालिका सदस्यहरुको उपस्थिति थियो ।
उद्घाटन सत्र शुरु हुनुपूर्व विभिन्न विद्यालयका खेलाडी मार्चपासमा सहभागी भएका थिए ।
उद्घाटन सत्रमा वडा नम्बर ७ का बाहेक कुनै पनि वडाध्यक्षको उपस्थिति थिएन । आफूहरुलाई निमन्त्रणा नगरिएको वडाध्यक्षहरुले बताएका छन् ।