लेटाङः तान्त्रिक साधना गर्ने शिवशक्ति बाबाको रूपमा परिचित लेटाङ– ९ जाँतेका सुजनकुमार पूर्वछानेमगरलाई ‘जगतगुरु’को उपाधि प्रदान गरिएको छ । सोमबार लेटाङ ९ जाँतेमा रहेको शिवशक्ति बाबाधाममा आयोजित सनातन धर्म सम्मान समारोहमा उहाँलाई सो उपाधि प्रदान गरिएको हो ।
उहाँलाई यसअघि सुनसरीको रामधुनीमा आयोजित कार्यक्रममा जगतगुरु घोषणा गरिएको थियो । सनातक धर्मका १४ सनातनी अखडाबाट पाल्नुभएका बालकानन्द गिरी र लल्ली महाराजको विशेष उपस्थितिमा शिवशक्ति बाबालाई जगतगुरुको उपाधि दिइएको हो ।
कोशी प्रदेश सांसद खड्गबहादुर बस्नेत, लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौला, चर्चित झाँक्री प्रकाश भुजेल लगायतका धार्मिक व्यक्तित्व, साधुसन्त र जनप्रतिनिधिको उपस्थितिमा शिवशक्ति बाबालाई जगतगुरुको रुपमा पदस्थापन गराइएको हो ।
जन्मसिद्ध दैवीशक्ति प्राप्त भएको आधारमा ७ महिनासम्म अध्ययन गरेर शिवशक्ति बाबालाई जगतगुरुको उपाधि प्रदान गरिएको कार्यक्रम मार्गदर्शक युवराज आचार्यले जानकारी दिनुभयो । शिवशक्ति बाबा दैवीशक्तिको आधारमा जगतगुरु घोषणा हुने पहिलो व्यक्ति भएको पनि उहाँले बताउनुभयो ।
बोली नआउने र प्यारालाइसिस भएका व्यक्तिलाई निको पार्ने शिवशक्ति बाबाको भनाइ छ ।
बोली नआउने र प्यारालाइसिस भएकालाई निको पार्ने शिवशक्ति बाबाको दाबी







