विराटचोकः माबिलुङ्ग इनर्जी लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन २६ गतेदेखि आईपीओ बिक्री खुला भएको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरिसकेको छ ।
कम्पनीले जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८ दशमलव ९९९८ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये ३ लाख ८५ हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि र सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ लाख ५० हजार ४७१ कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।
दोस्रो चरणमा १३ करोड ५४ लाख २३ हजार ५०० रुपैयाँबराबरको १३ लाख ५४ हजार २३५ कित्ता शेयर निष्काशन गरेको हो । सोमध्ये ३० हजार ९५ कित्ता शेयर कर्मचारीहरूका लागि र ७५ हजार २३६ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
सो आईपीओमा न्यूनतम १० र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीले सञ्चालन गरेको ४ दशमलव ९५ मेगावाटको माथिल्लो पिलुवाखोला–३ जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब १३ करोड ६० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २२ करोड ९५ लाख रुपैयाँ रहेको छ । सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र ३१ वर्ष बाँकी रहेको छ । यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९ दशमलव ४३ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १७ दशमलव ०९ वर्ष रहेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयबाट सि आस्बा प्रणालीमार्फत् आवेदन दिन सक्नेछन् ।







