Friday, December 5, 2025
Homeधर्म र संस्कृतिआज ऋषितर्पणी, जनैपूर्णिमा तथा रक्षाबन्धन

आज ऋषितर्पणी, जनैपूर्णिमा तथा रक्षाबन्धन

विराटचोकः आज जनैपूर्णिमा अर्थात ऋषितर्पणी पर्व परेकाले सनातन हिन्दू तागाधारी जातिले आज बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने र वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै फेर्ने चलन छ ।

हिन्दू दर्शनअनुसार जनैलाई ब्रह्मसूत्र अर्थात् ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ । हिन्दू तागाधारी जातिले देह शुद्ध गरी देवता, सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र तथा पितृहरूको नाममा तिल, कुशसहित नदी किनार, पोखरी, तालमा गई तर्पण गरिने चलन भएकाले यस पर्वलाई ऋषितर्पणीसमेत भनिन्छ ।

आज रक्षाबन्धन पनि हो । मानव रक्षाका लागि आजका दिन जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन (डोरो) मन्त्र पढ्दै ब्राम्हणहरूले यजमानको नाडीमा बाँधिदिन्छन् । तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदीबहिनी र दाजुभाइको आपसी मायाको चाडका रूपमा पनि लिइन्छ । आजका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँध्ने गर्छन् ।

नेवार समुदायमा आजका दिनलाई गुन्हु–पुन्ही भनी मनाइन्छ । भ्यागुताले गठेमङ्गलका दिन नरभक्षी घण्टासुरलाई बाटो भुलाई धापमा गाडिदिएको जनविश्वासअनुसार आजको दिन भ्यागुताको पूजा गर्ने प्रचलन पनि छ । आज थरीथरीका गेडागुडी मिसाई भिजाएर टुसा उम्रिएको क्वाँटी खाने चलन पनि छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments