Friday, December 5, 2025
Homeफिचरटुङ्गियो कानेपोखरीको केन्द्र विवाद, कार्यालय भौंसाबारी सार्ने निर्णयको पक्षमा भयो फैसला

टुङ्गियो कानेपोखरीको केन्द्र विवाद, कार्यालय भौंसाबारी सार्ने निर्णयको पक्षमा भयो फैसला

कानेपोखरीः मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवनसहित पालिकाको केन्द्र सार्ने विषयमा भइरहेको विवाद सर्वोच्च अदालतबाट समाधान भएको छ ।

पालिकाको केन्द्र ६ नम्बर वडा रमाइलोबाट ५ नम्बर वडाको भौंसाबारीमा सार्ने गरी पालिका, प्रदेश र संघ सरकारले गरेको निर्णयको विरुद्धमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो । आइतबार अन्तिम सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुँडाल र शान्तिसिंह थापाको इजलाशले उक्त रिट निवेदन नै खारेज गर्ने फैसला गरेपछि पालिका कार्यालय भौंसाबारीमा कायम हुने निश्चित भएको हो ।

पालिका कार्यालय पहिलेकै स्थानमा कायम गरिपाऊँ भनी कानेपोखरी ६ का ४ जना नगरवासीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश सरकार, कानेपोखरी गाउँपालिका कार्यपालिकाको कार्यालय, पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध सर्वोच्च अदालतमा २०८१ फागुन १३ गते मुद्दा दर्ता गरेका थिए ।

सो मुद्दामा सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलाशले २०८१ फागुन १५ गते कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशको विषयमा छलफललाई निरन्तरता दिएका थिए । यस्तै २०८१ चैत २० गते न्यायाधीश डा. मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको इजलाशले अन्तरिम आदेश जारी नहुने र रिट निवेदनलाई अग्राधिकार दिने आदेश गरेको थियो । कानेपोखरी गाउँपालिकाको गाउँसभाले २०८० वैशाख १७ गते कानेपोखरी ६ स्थित रमाइलो बजारमा रहेको प्रमुख प्रशासकीय अधिकृत भवनसहितको केन्द्र वडा नम्बर ५ को भौंसाबारीमा सार्ने निर्णय गरेको थियो । भवनसहित केन्द्र सार्नका लागि बैठकमा ३४ जनाले मतदान गर्दा सार्ने पक्षमा २७ जना र यथावत राख्ने पक्षमा ७ जनाले मतदान गरेका थिए । केन्द्र स्थापनाको लागि भौंसाबारीमा पालिकाले १ विगाहा जग्गा २ करोड ५ लाखमा खरिद गरेको थियो । सोही निर्णयको आधारमा २०८० माघ २९ गते कोशी प्रदेश सरकारले प्रशासकीय भवन सार्ने पालिकाको निर्णयलाई स्वीकृत गर्दै संघ सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

संघीय सरकारले २०८१ पुस १६ गते सो निर्णयको अनुमोदन गरेपछि त्यसका विरुद्ध सर्वोच्चमा रिट निवेदन परेको थियो ।

सोही रिटमाथि फैसला सुनाउने क्रममा अन्तिम फैसला आएपछि पालिकाको केन्द्र भौंसाबारीमा सार्न सहज भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments