विराटचोकः सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षमा वितरणयोग्य मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ गुणा अर्थात् २२० प्रतिशत बढाएर १ अर्ब ८६ करोड रुपैयाँ पुर्याएको छ । डिबेन्चर रिडेम्सन रिजर्भमा १ अर्ब ४६ करोड रुपैयाँ छुट्याएपछि पनि बैंकले १३ प्रतिशत लाभांश शेयरधनीलाई दिन सक्ने भएको छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य मुनाफा ५८ करोड रुपैयाँ मात्र थियो ।
समीक्षा अवधिमा बैंकको समग्र मुनाफा पनि १० दशमलव २४ प्रतिशतले वृद्धि भई ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष बैंकको यस्तो मुनाफा ३ अर्ब ८ करोड रुपैयाँ थियो । बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६ दशमलव ४३ प्रतिशतले वृद्धि भएको हो । बैंकले कुल आम्दानी ११ अर्ब १६ करोड रुपैयाँ आर्जन गरेको छ ।
बैंकले गत वर्ष थप १ अर्ब ३१ करोड रुपैयाँ कर्जा नोक्सानी प्रोभिजनिङ गरेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १६ दशमलव १६ प्रतिशतले बढेको छ । बैंकको चुक्ता पूँजी १४ अर्ब ९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १६ अर्ब ९० करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ १० पैसा पुगेको छ भने वितरणयोग्य आम्दानीमा आधारित प्रतिशेयर आम्दानी १३ रुपैयाँ २२ पैसा रहेको छ ।
बैंकको प्रतिशेयर नेटवर्थ २१९ रुपैयाँ ९७ पैसा रहेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २३ रुपैयाँ ६१ पैसा बढी हो । बैैंकको खराब कर्जा २ दशमलव ६२ प्रतिशत रहेको छ ।







