विराटचोकः प्रगति महिला समाजको आयोजनामा तथा सुन्दरहरैंचा नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित मागमा आधारित ढाका कपडा बुनाइ तालिम बुधबार सम्पन्न भएको छ । ७८ दिन सञ्चालन भएको तालिममा १५ जना महिला सहभागी हुनुहुन्थ्यो ।
तालिमको समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईंले सिकेको सीपलाई व्यावहारमा उतारी स्वरोजगार बन्न र व्यवसायी बन्न अनुरोध गर्नुभयो ।
उपप्रमुख अकली चौधरीले महिलाहरूलाई आत्मनिर्भर बनाउन नगरपालिकाले ढकिया, बेकरी, मोबाइल मर्मत तथा मुढा बनाउने तालिम पनि सञ्चालन गरेको बताउनुभयो ।
कार्यक्रमकी अध्यक्ष तथा प्रगति महिला समाजकी अध्यक्ष पार्वती गच्छदारले सहभागी महिलाले उत्पादन गरेका कपडा बिक्री र बजारीकरणमा समाज लाग्ने बताउनुभयो ।
तालिममा सहभागी शर्मिला शर्मा र हीरा खवासले तालिमले आफूहरूलाई स्वरोजगार बन्न हौसला मिलेको बताउनुभयो ।
समापन कार्यक्रममा तालिम प्रशिक्षक सुमित्रा विश्वकर्मा, सुन्दरहरैंचा नगरपालिकाको कार्यपालिका सदस्यहरू रूजा घिमिरे, बबिता खापुङ, सामाजिक विकास शाखा प्रमुख गुणनिधि दाहाल लगायतको उपस्थिति रहेको थियो ।
तालिम समापन भए पनि थप सात दिन सो तालिम सञ्चालन भइरहने आयोजकले जनाएको छ ।