विराटचोकः गायक स्वर्गीय गणेश रसिकको सम्झनामा नझरेका फूलहरुको आयोजनामा शनिबार विराटचोकस्थित प्लानेट लाउञ्जमा श्रद्धाञ्जली साँझ सम्पन्न भएको छ ।
भानु साझा पुस्तकालयका अध्यक्ष पुरन राईको अध्यक्षतामा भएको कार्यक्रमको मुख्य आकर्षण गायक लाक्पा शेर्पा हुनुहुन्थ्यो । सो श्रद्धाञ्जली साँझमा शेर्पाले स्वर्गीय रसिकको एउटा तथा आफ्ना केही गीत प्रस्तुत गर्नुभएको थियो । गायक शेर्पालाई यमुना पराजुलीले गायनमा साथ दिनुभएको थियो ।
स्वर्गीय रसिकको व्यक्तित्व र साङ्गीतिक यात्राका बारेमा सञ्चारकर्मी लक्ष्मी मादेनले जानकारी दिनुभएको थियो ।
कार्यक्रममा गायक सञ्जीव धिमाल, दुर्गा पराजुली र यमुना पराजुलीले स्वर्गीय रसिकका केही गीत गाउनुभएको थियो । नझरेका फूलहरुका अध्यक्ष केपी घिमिरेले सञ्चालन गर्नुभएको कार्यक्रम साँझ साढे सात बजे शुरु भएर झण्डै तीन घण्टा सञ्चालन भएको थियो ।







