गछियाः स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर पारेर विद्यार्थीलाई कपी तथा जुत्ता वितरण गरेको छ ।
सुन्दरहरैंचा–३ मा रहेको जननी आधारभूत विद्यालयका सबै विद्यार्थीलाई शैक्षिक सामग्रीअन्तर्गत कपी र विद्यालय पोशाकअन्तर्गत जुत्ता वितरण गरिएको समाजका अध्यक्ष चिरञ्जीवी सिवाकोटीले जानकारी दिनुभयो ।
हरियाली अभियानका अभियन्ता पारुल क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक नीला कार्की, सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन ढुङ्गाना, शिक्षाविद् उमेश उप्रेती, समाजका सल्लाहकार डम्मरु गौतमलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।
प्रमुख अतिथि क्षेत्रीले राजनीतिक दलहरुले गरेको अवैधानिक कामको विरोध गर्न स्वतन्त्र नागरिक समाजजस्ता संस्थाको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
शिक्षाविद् उप्रेतीले स्वतन्त्र नागरिक समाजले समाजका लागि गरेका काम उदाहरणीय भएको बताउनुभयो ।
प्रधानाध्यापक कार्कीले आफ्नो विद्यालयमा सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ३ का वडाध्यक्ष एक पटक पनि विद्यालयको शैक्षिक जानकारी लिन वा अन्य कुनै कामको लागि नआएको बताउनुभयो । विद्यालय सुधारका मागहरु लिएर आफू वडा जाँदा पनि चासो नदिने गरेको उहाँको आरोप थियो ।
समाजका अध्यक्ष सिवाकोटीले गत एक वर्षको अवधिमा संस्थाले एक दर्जनभन्दा बढी समाजोपयोगी काम गरेको बताउनुभयो ।
समाजका सचिव कृष्ण कटुवालले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य समाजका सदस्य नेत्र चौलागाईँले गर्नुभएको थियो ।







