विराटचोकः नझरेका फूलहरूको आयोजना तथा सुकुना बहुमुखी क्याम्पसको समन्वयमा भएको त्रिदिवसीय काव्य उत्सवको दोस्रो दिन शुक्रबार गजल उत्सव सम्पन्न भएको छ ।
तीन दिने काव्य उत्सवअन्तर्गत भएको गजल उत्सवमा १४ जना गजलकारले आफ्ना दुईदुई गजल वाचन गर्नुभएको थियो । साहित्यकार पुरन याक्खाको अध्यक्षता तथा डा. भीम खतिवडाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । गायक सुमित खड्का सञ्जीव धिमालले साङ्गीतिक प्रस्तुति प्रस्तुत गर्नुभएको थियो ।
गजल उत्सवमा जेबी थुलुङ, तिला लेकाली, रोमु अधिकारी, सुनिता तामाङ, यादव भट्टराई, युवराज ठकुरी, रोहित पराई, मुना आत्रेय, सुजन डोटेल, अनुप अनुपम, रुपनारायण श्रेष्ठ, टीका भट्टराई, खेमराज आचार्य र टीकाराम कार्कीले आफ्ना गजल वाचन गर्नुभएको थियो ।
कार्यक्रममा उपस्थित साहित्यानुरागीलाई सुकुना बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले स्वागत मन्तव्यमार्फत् स्वागत गर्नुभएको थियो ।
नझरेका फूलहरूको आयोजनामा भएको पलेँटीको ४७ औँ शृङ्खलाको अन्तिम दिन भोलि प्रा. डा. कृष्णहरि बराल, डा. नवराज लम्साललगायतलाई सम्मान गर्ने कार्यक्रम रहेको नझरेका फूलहरूका प्रस्तोता केपी घिमिरेले जानकारी दिनुभयो ।







