विराटचोकः देशभरका स्थानीय तहलाई तीन दिनसम्म गणतन्त्र दिवस मनाउन सामान्य प्रशासन मन्त्रालयले अनुरोध गरेअनुसार सुन्दरहरैंचामा पनि तीन दिन दिवस मनाइने भएको छ ।
आज गणतन्त्र दिवस मनाउने सम्बन्धमा नगरप्रमुख केदारप्रसाद गुरागाईंको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले तीन दिन मनाइने दिवसका लागि विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको हो ।
वडा कार्यालयको समन्वयमा भोलि जेठ १४ गते सबै वडाका साथ टोल, बजारमा सरसफाइ कार्यक्रम सञ्चालन गरिने भएको छ । नेपाल रेडक्रस सोसाइटी सुन्दरहरैंचाको समन्वयमा १५ गते नगरपालिका परिसरमा वृहत् रक्तदान कार्यक्रम हुने भएको छ । १६ गते वडा नं. ४ मा रहेको ल्याण्डफिल साइटमा वृक्षरोपण गरिने भएको छ ।
जेठ १४, १५ र १६ गते घरघरमा तथा चोकहरुमा दीप प्रज्ज्वलन गरिने भएको छ ।
बैठकमा कार्यपालिका सदस्य, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, जनप्रतिनिधिहरु, संघ–संस्था तथा विद्यालयका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थिति थियो ।







