काठमाडौंः मिल्दो पद वा दरबन्दी भएमा निजामती कर्मचारीमा अन्तरप्रदेश सरुवा खुला हुने भएको छ ।
स्थानीय तहका कर्मचारीहरू पनि दुवै प्रदेश सरकारको सहमतिमा सरुवा गर्न सकिने र त्यसको अधिकार मुख्यमन्त्री र मन्त्रिपरिषद् कार्यालयमा रहने भएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा जुटेको सहमतिअनुसार प्रदेश सरकारको दोहोरो सहमतिमा अन्तरप्रदेश सरुवा हुने बाटो खुल्ने भएको हो ।
राज्य व्यवस्था तथा सुशासन समितिले अन्तरतह सरुवा र अन्तरप्रदेश सरुवा हुन सक्ने गरी संघीय निजामती सेवा विधेयकको प्रतिवेदन तयार पारेको छ । सो विधेयकको बुँदा नम्बर ५५ मा नयाँ व्यवस्था गर्न लागिएको हो ।







