विराटचोकः मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १ स्थित बानडाँडाका विपन्न मुसहर बस्तीमा इन्द्रपुर जेसीजले बुद्ध जयन्तीको अवसर पारेर ‘जेसीज भिलेज’अन्तर्गत चार वटा घरको शिलान्यास गरेको छ ।
इन्द्रपुर जेसीजको दीर्घकालीन परियोजनाको रूपमा अगाडि बढाइएको यस अभियानअन्तर्गत आगामी दुई महिनाभित्र ती घर निर्माण सम्पन्न गरी समुदायलाई निःशुल्क हस्तान्तरण गरिने योजना रहेको इन्द्रपुर जेसीजका अध्यक्ष आकाश दुलालले बताउनुभयो ।
जेसीजले सामाजिक उत्तरदायित्व अन्तर्गत अघि बढाएको यस योजनाले बस्तीका विपन्न परिवारलाई सुरक्षित तथा सम्मानजनक आवास प्रदान गर्ने लक्ष्य लिएको छ ।
इन्द्रपुर जेसीजले केही महिना पहिले पूर्वमै पहिलो पटक कपडा बैंक स्थापना गरी कपडा सङ्कलन गरेर विपन्न परिवारलाई वितरण गरेको थियो ।







