विराटनगरः कोशी प्रदेश सरकारको आयोजनामा बैशाख १८ र १९ गते भएको कोशी लगानी सम्मेलनमा ४६ वटा परियोजनामा हस्ताक्षर भएको छ । ती परियोजनामा १ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको प्रदेश सरकारले जनाएको छ ।
लगानी सम्मेलनमा लगानीकर्ता केपी सिटौलाले २२ करोड लगानीमा देउमाई कफी फार्मिङ प्रोजेक्ट सञ्चालन गर्ने सम्झौतामा पहिलो हस्ताक्षर गर्नुभएको छ । टर्मरिक प्रोडक्सन एन्ड प्रोसेसिङ सेन्टर वराह क्षेत्रका सञ्चालक केशव घिमिरेले १९ करोड रुपैयाँ लगानीमा बेसार उत्पादन तथा प्रशोधन परियोजनामा हस्ताक्षर गर्नुभएको छ ।
त्यस्तै, गिरिराज बस्नेतले ग्रिनयार्ड एग्रो फार्म सञ्चालन गर्न ४५ करोड, इलामकी कुसुम दाहालले ८० करोड रुपैयाँ लगानीबाट एड्भान्सिङ नेप्लिज टि एन्ड कफी प्रोजेक्ट सञ्चालन गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
त्यस्तै, नेत्रप्रसाद भण्डारीले १८ करोड लगानीमा छुर्पी प्रोजेक्ट, राजन शर्माले २७ करोड लगानीमा साइट्रस ट्रुथ फार्मिङ एन्ड एग्रो टुरिजम, धनकुटामा विष्णु अग्रवालले किबी फार्मिङ एन्ड प्रोसेसिङ इन्डस्ट्रिज, ६४ करोड लगानीमा धनकुटा एभोकाडो फार्मिङ प्रोसेसिङ इण्डष्ट्रिज एन्ड एग्रो टुरिजममा लगानी प्रतिबद्धता सम्झौता भएको छ ।
उद्योगी पवनकुमार सारडाले १ अर्ब ६० करोड लगानीमा सुनसरीमा पशुपति इनर्जी प्रोजेक्ट सञ्चालन गर्ने गरी हस्ताक्षर भएको छ । उदयपुरमा राजेन्द्र श्रेष्ठले ५ अर्ब ६० करोड रुपैयाँ लगानीमा एग्रोभल्टिक सोलार प्रोजेक्ट तथा संखुवासभामा राजन निरौलाले पाँचखपन हाइड्रोपावर कम्पनीबाट १४२ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ ।
प्रेसिडेन्ट एग्रोटेकमा शम्भुबाबु कोइरालाले २० करोड, शिवशक्ति बायोटेक मोरङमा अनन्तराम खतिवडाले २७ करोड, हर्बल प्रोसेसिङ प्लान्ट प्रोजेक्ट मोरङमा उदय बरालले १६ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धतामा हस्ताक्षर भएको छ ।
सोलुखुम्बु तिलिचो पिक फुड एन्ड ड्रिङ्क प्रालिका जनक राईले ४० करोड लगानी गरी कोदोको रक्सी बनाउने भएका छन् ।
कोशी प्रदेश सरकारले लगानी सम्मेलनमा ७१ वटा परियोजना सोकेसमा राखेको थियो । त्यसमध्ये ४६ वटा परियोजनामा लगानी प्रतिबद्धता जुटेको सरकारले जनाएको छ ।
प्रदेश लगानी प्राधिकरणका अनुसार कृषितर्फ आठ परियोजनामा ३ अर्ब, ऊर्जातर्फ तीन परियोजनामा आठ अर्ब ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८ अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका लागि ३४ अर्ब १९ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोरमैला व्यवस्थापनको लागि ६० करोडको परियोजनामा सम्झौता भएको हो ।