लेटाङः लेटाङ नगरपालिकाले लोक सेवा तथा शिक्षा सेवा आयोगको तयारी कक्षा सम्पन्न गरेको छ । गत चैत २५ गतेदेखि शुरु भएको लोक सेवा तथा शिक्षा सेवा आयोगको चौथो पत्रको तयारी कक्षा बुधबार सम्पन्न भएको हो ।
लेटाङ क्याम्पसको हलमा १५ दिनसम्म सञ्चालन भएको तयारी कक्षा बुधबार एक कार्यक्रमका बीच समापन गरिएको हो । तयारी कक्षामा लेटाङ नगरपालिकाका १७ जना युवायुवती सहभागी थिए ।
लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्रकुमार लावतीको अध्यक्षतामा भएको समापन कार्यक्रममा उपप्रमुख कृष्णकुमारी निरौला, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदी, लेटाङ क्याम्पसका प्रमुख रामप्रसाद बराल लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख लावतीले नगरपालिकाले सञ्चालन गरेका कार्यक्रमहरु परिणाममुखी हुनुपर्ने भन्दै मेहनतका साथ परीक्षाको तयारीमा जुट्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख निरौलाले तयारी कक्षामा सिकेका कुराहरुलाई मनन गरी अझ मेहनत गरेर परीक्षाको तयारीमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले आत्मविश्वास कायम गरेर अघि बढ्नुपर्ने भन्दै एक पटकको प्रयासमा सफल हुन नसके पनि निरन्तर लागि परेर प्रातिष्पर्धामा आउन प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीले लोक सेवा आयोगको परीक्षाको तयारी गर्ने विधि बारेमा आफ्नो अनुभव सुनाउनुभयो । उहाँले पछिल्लो समय प्रविधिको विकासले समेत लोक सेवा तयारीका लागि सहज भएको बताउँदै त्यसलाई सदुपयोग गर्न पनि आग्रह गर्नुभयो ।
योजना शाखा प्रमुख चेतनाथ गौतमका अनुसार तयारी कक्षा सञ्चालनका लागि नगरपालिकाले सार्वजनिक रुपमा सूचना प्रकाशित गरेर विद्यार्थीहरूलाई आह्वान गरेर कक्षा सञ्चालन गरेको हो ।