काठमाडौंः नेपाली कांग्रेसले लोकतन्त्र दिवसको अवसरमासन्देश जारी गर्दै नेपालको लोकतान्त्रिक आन्दोलनमा बलिदान दिने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काद्वारा जारी सन्देशमा शहीदहरूको बलिदान र जनताको त्यागले नै वर्तमान लोकतान्त्रिक संविधान र व्यवस्था स्थापना भएको स्मरण गरिएको छ ।
सन्देशमा भनिएको छ, ‘वि. सं. २०४६ र २०६२÷०६३ को जनआन्दोलन र नेपाली कांग्रेसको नेतृत्वमा भएका लोकतान्त्रिक संघर्षहरूले मुलुकलाई गणतन्त्रात्मक संविधानतर्फ डोहोर्याएको हो ।’
नेपाली कांग्रेसले यस अवसरमा लोकतन्त्रको संरक्षण र विस्तारमा सबै नागरिकलाई जागरूक हुन अपिल गरेको छ । पार्टीले लोकतन्त्रलाई केवल अधिकार प्राप्तिको साधन नभई सबैको दायित्वसमेत रहेको उल्लेख गर्दै, यसको रक्षा र सुदृढीकरणमा जनताको सक्रिय सहभागिताको आवश्यकता औँल्याएको छ ।
सन्देशमा लोकतन्त्रलाई युगान्तकारी परिवर्तनको माध्यमका रूपमा लिनु जरुरी रहेको र लोकतन्त्रले मुलुकको राजनीतिक, आर्थिक र सामाजिक प्रगतिलाई सुनिश्चित गर्ने बताइएको छ ।