गोठगाउँः पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा कुनै पनि बहानामा बन्द हुन नदिन सुन्दरहरैंचाका राजनीतिक दलहरू सहमत भएका छन् । विश्वविद्यालयलाई बन्द निषेधित क्षेत्र घोषणा गर्ने प्रतिबद्धता जनाउँदै आज सर्वदलीय प्रतिबद्धतासहितको १० बुँदे सुझाव तथा ज्ञापनपत्र विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलियालाई बुझाइएको छ ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलियालाई ज्ञापनपत्र बुझाउँदै एम.बि.बि.एस. कार्यक्रम सञ्चालनको तयारी, गोठगाउँ परिसरको प्रभावकारी प्रयोग, ८०५ विघा विश्वविद्यालयको भोगाधिकार प्राप्त जमिनको समुचित विकास लगायतका सुझावहरू राखिएको छ ।
ज्ञापनपत्रमा उल्लेख गरिएका प्रमुख बुँदाहरूमा विश्वविद्यालयको आफ्नै मेडिकल कलेज स्थापनासँगै एम.बि.बि.एस. कार्यक्रम शुरु गर्नका लागि स्पष्ट कार्ययोजना माग गरिएको छ । साथै विश्वविद्यालय परिसरको शैक्षिक, प्राज्ञिक र भौतिक संरचनालाई दीर्घकालीन दृष्टिकोणमा प्रयोग गर्न, केन्द्रीय कार्यालयहरू स्थायी रूपमा गोठगाउँमा स्थानान्तरण गर्न र संरचनाहरूको मर्मत तथा सौन्दर्यीकरण गर्न माग गरिएको छ ।
स्थानीय स्तरमा शैक्षिक वातावरण प्रवद्र्धन गर्न र विश्वविद्यालयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन पूर्वाधार विकासका साथै शान्ति क्षेत्र घोषणा समेत गर्न आग्रह गरिएको छ ।
सर्वदलीय ज्ञापनपत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा समाजवादी, राष्ट्रिय जनमुक्ति पार्टी, जसपा लगायत दलका प्रतिनिधिहरूको हस्ताक्षर रहेको छ । कार्यक्रमको संयोजन नेपाली कांग्रेस सुन्दरहरैँचाका सभापति भक्तिप्रसाद सिटौलाले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस सुन्दरहरैंचाका सचिव होमनाथ पोखरेलले गर्नुभएको थियो ।
ज्ञापनपत्र बुझाएपछि स्वतन्त्र नागरिक समाजका साथै विभिन्न दलका प्रतिनिधिले आफ्नो भनाइ राख्नुभएको थियो ।
ज्ञापनपत्र बुझ्दै उपकुलपति प्रा. डा. बिजुकुमार थपलियाले आफूले हालसम्म गरेका र आगामी दिनमा गर्ने कार्यको बारेमा जानकारी गराउनुका साथै ज्ञापनपत्रमा समेटिएका बुँदा कार्यान्वयन गर्न विश्वविद्यालय तयार रहेको बताउनुभएको थियो ।







