लेटाङः अघिल्ला वर्षहरुमा नगरसभा शुरु हुनुभन्दा केही दिन अघि हतार–हतारमा नीति निर्माण हुने गरेकोमा लेटाङ नगरपालिकाले नयाँ अभ्यास शुरु गर्दै विषयगत समितिमार्फत् सुझाव मागी नीति निर्माणको काम थालेको छ ।
लेटाङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२\०८३ को नीति निर्माणका लागि स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था भए बमोजिम विषयगत समितिमा छलफल गरी नीति निर्माण प्रक्रिया अघि बढाएको नगरप्रमुख भुपेन्द्रकुमार लावतीले जानकारी दिनुभयो ।
नगरले पहिलोपटक नीति तर्जुमा कार्याशाला सञ्चालन गरेर विषयगत समितिमार्फत नीति निर्माण गर्ने अभ्यास थालेको हो । नगरपालिकाले विषयगत समितिका संयोजक, सदस्य र सम्बन्धित शाखाका कर्मचारीलगायतको सहभागितामा कार्यशाला सञ्चालन गरी आगामी आर्थिक वर्षको नीति निर्माण गरेको हो ।
नगर उपप्रमुख कृष्णकुमारी निरौला सही नीति बनाएर नीतिअनुसार बजेट तथा कार्यक्रम तयार गरेर अघि बढ्दा बजेट कार्यान्वयनमा पनि सहज हुने बताउनुहुन्छ । नगरले समयतालिका नै बनाएर संघीय र प्रदेश कानुनको अधीनमा रही आवधिक योजना, गुरुयोजना, आयोजना बैंक, मध्यमकालीन खर्च संरचना तथा विभिन्न सुझावहरुका आधारमा आगामी आर्थिक वर्षको नीति निर्माण गरिरहेको छ ।
नगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीका अनुसार यसरी ऐनमा भएको व्यवस्था अनुसार नीति निर्माण गर्दा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन लिजाको अङ्क वृद्धि भई संघीय सरकारबाट आउने अनुदान समेत बढ्न सक्छ ।
सुवेदीका अनुसार नगरपालिकाको आर्थिक विकास समिति, सामाजिक विकास समिति, पूर्वाधार विकास समिति, वन वातावरण तथा विपद व्यवस्थापन समिति र संस्थागत विकास तथा सुशासन समितिले आआफ्नो विषयसँग सम्बन्धित नीति निर्माण गरी कार्यपालिका बैठकमा पठाएका छन् ।
संघीयता कार्यान्वयनमा आएको ८ वर्ष पूरा हुँँदै गर्दा पहिलो पटक नीति निर्माण गर्न विषयगत समितिमा छलफल गरिएको आर्थिक विकास समिति संयोजक भूमबहादुर सूर्यमगर र लेखा समिति संयोजक तेजप्रसाद तिम्सिना बताउनुहुन्छ ।
नगरपालिकाले विषयगत समितिमा छलफल गर्नुका साथै सामाजिक सञ्जालबाट समेत नीति निर्माणका लागि नगरवासीसँग सुझाव माग गरेको छ । नगरका लक्षित समूह, वडाका जनप्रतिनिधि र कर्मचारीहरुसँग पनि छलफल गरी सुझाव माग गरिएको बताइएको छ ।







