बेलबारीः साहित्यकार ईरान राईको कविता सङ्ग्रह ‘इतिहास’ को शुक्रबार लोकार्पण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा पूर्व सांसद हर्कमान तामाङ, विशिष्ट अतिथि बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई तथा अन्य साहित्यकार एवं अतिथिहरूको उपस्थितिमा कृतिको विमोचन गरिएको थियो ।
प्रमुख अतिथि तामाङले ईरान राई जीवन संघर्षबाट गुज्रँदै साहित्यमा आफ्नो पहिचान बनाउन सफल भएको बताउनुभयो । नगर प्रमुख दिलप्रसाद राईले ईरान राईको सिर्जनात्मकता र सकारात्मक सोचको प्रशंसा गर्नुभएको थियो ।
समालोचक मिश्र वैजयन्तीले ‘इतिहास’ कृतिमा राजनीतिक, सामाजिक तथा शैक्षिक विकृतिहरूविरुद्ध तिखो व्यङ्ग्य गरिएको बताउनुभयो ।
कृतिकार राईले आफू २०४२ सालदेखि कविता लेखनमा सक्रिय रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा उहाँले ‘आजकल म जोगबनी जान्नँ’ शीर्षकको कविता वाचन गर्नुभएको थियो । नवप्रतिभा पुरस्कारका लागि रु. ५१ हजार उपलब्ध गराउने पनि उहाँले घोषणा गर्नुभयो ।
कार्यक्रममा प्रगतिशील लेखक संघ कोशी प्रदेशका अध्यक्ष तिला लेकाली, साहित्य कला सङ्गम झापाका अध्यक्ष विष्णु न्यौपाने, डियर कल्याण साहित्य प्रतिष्ठान सुनसरीका अध्यक्ष विनोद घिमिरे ‘विवश’ लगायतले शुभकामना दिनुभएको थियो ।
विमोचन कार्यक्रममा विमोचित कृतिभित्रका रचनामध्ये बेलबारी प्रज्ञा–प्रतिष्ठानकी अध्यक्ष रेखा सुवेदीले ‘इतिहास’, स्रष्टा समाज मोरङका अध्यक्ष जेबी थुलुङले ‘उडान’ र विराटनगरकी साहित्यकार सविना श्रेष्ठले ‘असार पन्ध्र’ शीर्षकका कविता वाचन गर्नुभएको थियो । साहित्यकार रोहिणी रसिक, नवराज पोख्रेल नवशिला र एकराज भट्टराईले आफ्ना रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रममा संविधान सभा सदस्य मधु गुरुङ, कोशी प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदी, कण लघुकथा मञ्चका अध्यक्ष दीप मङ्ग्राती, वडाध्यक्षहरू योगेन्द्र सुवेदी र कृष्ण गुरुङ तथा साहित्यानुरागी विदुर सुवेदी, नवराज भट्टराई, परशुराम सुवेदी, प्रताप थापा, धनजीत पराजुली, विमला पोख्रेल, केशु विरही, अजित धिमाल लगायतको उपस्थिति थियो ।
बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव उमा सिँजापती र सहसचिव विमला सुवेदीले गर्नुभएको थियो ।
विमोचित कृतिमा ४२ वटा कविता समेटिएका छन् ।







