विराटचोकः झापाको हल्दीबारीमा भएको पशुको बाँझोपन निवारण शिविरमा मोरङको सुन्दरहरैंचाको संकल्प एग्रोटेक प्रालिले प्राविधिक सहयोग प्रदान गरेको छ ।
एग्रोटेक प्रालिका प्रबन्धक सुरेश रेग्मीका अनुसार पशुचौपायामा देखिएको बाँझोपन समस्या निवारणका लागि शिविर सञ्चालन गरिएको हो । तीन दिन सञ्चालन भएको शिविरमा बाँझोपनको समस्या भएका पशुपालकलाई निःशुल्क परामर्श दिइएको थियो । पालिकाले ५ वटै वडाका किसानका गोठका साथै १० वटा व्यावसायिक फार्मका पशुपालकलाई परामर्श दिनुका साथै पशुको उपचार गरिएको थियो ।
रेग्मीका अनुसार पशुको प्रजनन स्वास्थ्यको जटिलता, आर्थिक क्षति र बाँझोपनका कारणहरू र त्यसको उपचारका विभिन्न उपायहरू बारेमा पशुपालकलाई सन्देशमूलक जानकारी गराइएको थियो । विशेषज्ञ डाक्टरहरूबाट प्रत्यक्ष परामर्श तथा अत्याधुनिक अल्ट्रासाउन्ड मेसीनको सहयोगबाट पशुको परीक्षण र आवश्यक औषधोपचार सेवा दिइएको उहाँले जानकारी दिनुभयो ।
हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले यस्ता कार्यक्रमहरू भविष्यमा पनि निरन्तर रूपमा सञ्चालन गरिने बताउनुभयो ।








