विराटचोकः डिपु टोल विकास संस्था सुन्दरहरैंचाले आफ्नो टोलवासीका लागि नौला र अनुकरणीय काम गर्ने गरेको छ । टोलभित्रका बाटाका नाम र नम्बरको अभिलेख र बोर्ड राख्ने, राष्ट्रिय झण्डा राख्ने, सडक बत्ती राख्ने काम धेरैजसो संस्थाले गरेका छन् । डिपु टोलले भने सदस्य मृत्यु राहत पनि उपलब्ध गराउन थालेको हो ।
सोही क्रममा हिजो पहिलो पटक संस्थाका सदस्यको परिवारमा गएर मृत्यु राहत रकम हस्तान्तरण गरिएको छ । स्थानीय देउकीमाया विश्वकर्माको मृत्युको नवौँ दिनमा हिजो टोलवासीले २० हजार ५०० रुपैयाँ राहतस्वरुप प्रदान गरेका हुन् । यसभन्दा पहिले मृतकको आत्मालाई श्रद्धाञ्जली र परिवारमा समवेदना दिन जाँदा फलफूल र खाद्यपदार्थमात्रै लिएर जाने गरिएकोमा त्यसका साथै नगद रकम पनि प्रदान गर्न थालिएको हो । यस्तो राहत पहिलो पटक वितरण गरिएको र यसलाई निरन्तरता दिइने संस्थाले जनाएको छ ।
‘टोलभित्र हामी १३१ परिवार छौँ । प्रत्येक घरबाट २०० रुपैयाँका दरले रकम उठाएर दिइएको हो,’ टोल विकास संस्थाका अध्यक्ष मानबहादुर श्रेष्ठले भन्नुभयो, ‘१०१ परिवारबाट रकम सङ्कलन भयो । बाँकी ३० परिवारबाट पनि २०० रुपैयाँका दरले रकम उठाएर प्रदान गरिनेछ ।’
टोल विकास संस्थाले नयाँ र टोलवासीको हित हुने किसिमका कार्य गरिरहने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।








