विराटनगरः आज राति १२ बजेदेखि कोशी प्रदेश सरकारको चालु छैटौँ अधिवेशन अन्त्य हुने भएको छ । मन्त्रिपरिषद बैठकले कोशी प्रदेश सभाको चालु छैटौँ अधिवेशन आज राति १२ बजेबाट अन्त गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभा बैठक अन्त्य गर्ने निर्णय गरेको हो । बैठकले कोशी प्रदेश जनस्वास्थ्य नियमावली २०८१ समेत स्वीकृति गर्ने निर्णय गरेको छ ।
सो बैठकले समस्याग्रस्त सहकारी संस्था वा सङ्घ व्यवस्थापन समितिको सदस्य सचिवमा चन्द्रबहादुर कार्कीलाई तोक्ने निर्णय गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका लागि १ करोड २८ लाख ६० हजार रकम बाँडफाड गर्न स्वीकृत प्रदान गरिएको छ । मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको लागि अनुमानित सीमा १ अरब ५० करोड तथा राजस्व बाँडफाडको अनुमानित सीमा १ अरब १० करोड स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।