सिन्धुलीः तस्बिर खिच्नुपर्दा पोज दिनुपर्याे भने धेरैजसोले आफ्नो हातका दुई औँला देखाउँछन् । तर यो चित्रमा भने सात वटा सम्म औँला देखाइएको छ । यसरी तस्बिर खिचाउने वातावरण भने होली पर्वले जुटाएको थियो ।
बिहीबार सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्बर २ मा एकाएक रमाइलो वातावरण सिर्जना भयो । होली खेल्न भेला भएका मानिसहरुबीच कसका सन्तान कति छन् भन्ने बारेमा सोधीखोजी हुन थाल्यो । भेला भएकामध्ये धेरैजसोका सन्तान छोरीमात्रै भएको थाहा भएपछि छोरीमात्रै सन्तान हुने अभिभावकलाई कार्यक्रमको अगाडिको लहरमा बस्न लगाइयो ।
‘हामी ५ जना अभिभावक अगाडि गएर बस्यौँ,’ सो भेलामा सहभागी हुनुभएका मिथिला– ११ धनुषाका ईश्वरीप्रसाद पौडेलले भन्नुभयो, ‘त्यसपछि मेरा ६ जना छोरीमात्रै छन् भन्दै कोइराला थरका व्यक्ति सबभन्दा अघि बस्नुभयो ।’ फेरि उहाँलाई जित्दै मेरा ७ जना छोरीमात्रै छन् भन्दै कोइराला थरका नै अर्का व्यक्ति अगाडि बस्नुभयो ।
त्यसपछि जसका जति जना छोरी मात्रै छन् त्यति नै औँला देखाएर तस्बिर खिचाउँदै होली खेल्ने कार्यक्रम भयो । पौडेलका अनुसार भेला भएका मानिसबीच गफगाफका क्रममा नयाँ तरिकाले होली खेल्ने प्रस्ताव अनुसार छोरीमात्रै सन्तान हुने अभिभावकबीच यसरी होली खेलिएको हो ।







