Friday, December 5, 2025
Homeकला र साहित्यफागुसँग सम्बन्धित केही गीतहरू

फागुसँग सम्बन्धित केही गीतहरू

विराटचोकः फागु रङहरूको पर्व हो । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व नेपालका हिमाली र पहाडी जिल्लामा अघिल्लो दिन तथा तराईका जिल्लामा भोलिपल्ट मनाइन्छ ।

फागु अर्थ होलीमा वसन्त ऋतुलाई स्वागत गरिन्छ । नेपाली चलचित्रको क्षेत्रमा फागुसँग सम्बन्धित केही गीत समावेश छन् । तीमध्ये केही गीत यहाँ प्रस्तुत गरिएको छ ।

होलीले मेरो रङ्गायो नयाँ चोलीः
चलचित्र ‘अधिकार’मा समावेश यो गीत सम्भवतः फागुमा सबैभन्दा धेरै बज्ने तथा गाइने गीत हो यो । यो गीत मा राजेश हमाल, कृष्टि मैनाली, मिथिला शर्मालगायतको अभिनय छ । चलचित्रमा फागुको गीतलाई विशेष महत्व दिइएको छ । गीतमा उदितनारायण झा, दीपा झा, प्रकाश श्रेष्ठ र पूर्णिमा श्रेष्ठको स्वर छ ।

आऊ न आऊ खेलौँ होलीः
अभिनेत्री करिस्मा मानन्धरले निर्माण गरेको फिल्म ‘फागु’मा रहेको ‘आऊ न आऊ खेलौँ होली’ हरेक वर्षको होलीमा धेरै बज्ने गीत हो । गीतमा दयाराम पाण्डेको शब्द र वसन्त सापकोटाको सङ्गीत छ ।
मीना निरौला, मनोज महत्तो, रञ्जितकुमार साहनीको स्वर रहेको गीतमा शिल्पापोखरेल र सुवास पराजुलीको अभिनय छ ।

फागु हो, फागु होः
ऐतिहासिक चलचित्र ‘वसन्ती’मा राणाकालीन समयमा दरबारभित्र होलीलाई कसरी मनाइन्थ्यो भन्ने कुरा देखाइएको छ । सो चलचित्रमा रहेको फागु हो फागु हो बोलको गीतमा राजेश हमाल, करिश्मामानन्धर र निरुता सिंह लगायतको अभिनय छ ।
डायमण्ड शमशेर राणा लिखित उपन्यास ‘वसन्ती’मा आधारित चलचित्र नीर शाहले निर्देशन गरेका हुन् । नीर शाहकै शब्द रहेको गीतमा शम्भुजित बाँस्कोटाको सङ्गीत तथा ज्ञानु राणा र लोचन भट्टराईको स्वर छ ।

आज जनकपुरमे होली हैः
चलचित्र ‘सीता’ मा रहेको आज जनकपुरमे होली है बोलको गीत फागुको अर्काे लोकप्रिय गीत हो । स्वर्गीय श्रीकृष्ण श्रेष्ठ, सारङ्गा श्रेष्ठ, राजाराम पौडेल, किरण केसी अभिनीत चलचित्रमा जनकपुर क्षेत्रमा होली कसरी मनाइन्छ भन्ने देखाउन खोजिएको छ ।

होली रेः
चलचित्र ‘बटरफ्लाई’मा समावेश ‘होली रे’ गीतमा अभिनेत्री प्रियंका कार्की र अभिनेता आर्यन अधिकारीको अभिनय रहेको छ । गीतमा राजेश पायल राई र मान्डवी त्रिपाठीको स्वर छ । प्रमोद ढुङ्गानाको शब्द रहेको गीतमा विकास चौधरीको सङ्गीत छ । ओम प्रतीकले निर्देशन गरेको सो चलचित्रको होली रे बोलको गीत पनि स्रोताले रुचाउने गीतमा पर्छ ।

होरीमे गोरीः
मैथिली भाषाको यो गीत नेपाली भाषाको चलचित्र ‘संरक्षण’मा समावेश छ । नेहा प्रियादर्शन र प्रवेश मल्लिकको स्वर रहेको गीतमा धीरेन्द्र प्रेमर्षीको शब्द र प्रवेश मल्लिकको सङ्गीत रहेको छ । सौगात मल्ल र अशिष्मा नकर्मीलगायतको नृत्य गीतमा छ । पुर्णेन्द्र झा निर्देशित चलचित्रमा रहेको ‘होरीमे गोरी’बोलको होली गीत तराई क्षेत्रमा होलीको समय धेरै बज्ने गीतमध्येको एक हो ।

रङ्ग रङ्गाः
अनमोल केसी अभिनीत फिल्म ‘गाजलु’मा रहेको गीत ‘रङ्ग रङ्गा’ मा जैन जेको शब्द तथा सङ्गीत रहेको छ । गीतमा शिवानी मोक्तानको स्वर छ भने अनमोल केसी, गौरव पहारी, मेनुका प्रधान, सलोन बस्नेत, सृष्टि श्रेष्ठलगायतको अभिनय छ ।

यी गीतका साथै अन्य धेरै गीत फागु पर्वसँग सम्बन्धित रहेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments