खेमचन्द्र अधिकारी
विराटचोकः सञ्चार क्षेत्रको विकासमा नगरपालिकाको तर्फबाट कार्यविधि बनाएर संस्थागत रुपमा सहयोग गर्न सुन्दरहरैंचा नगरपालिकाले महत्वपूर्ण कार्य गरेको छ ।
२०८१ माघ २१ गते नगर कार्यपालिकाबाट स्वीकृत गराई माघ २९ गते राजपत्रमा सूचना तथा सञ्चार कार्यविधि, २०८१ प्रकाशन गरेर नगरले सुन्दरहरैंचाका स्थानीय सञ्चारमाध्यमको प्रवद्र्धनमा नगर तयार रहेको प्रमाणित गरेको छ । ११ पृष्ठ लामो कार्यविधि लागू भएपछि नगरको सो कार्य उत्कृष्ट कार्यको रुपमा अरु पालिकाका लागि पनि अनुकरणीय हुने नेपाल पत्रकार महासंघ मोरङका सदस्य बाबुराम निरौला बताउनुहुन्छ ।
नगरपालिकाले लोक कल्याणकारी सूचना स्थानीय सञ्चारमाध्यमलाई मात्रै दिने नीति अघि सारेको छ । नगरभित्रका सञ्चारगृहलाई एकै स्थानमा समेट्न सञ्चारग्रामको विकास गर्नुपर्ने भनी सुन्दरहरैंचाका सञ्चारकर्मीले माग गर्दै आएका छन् । सो मागलाई पनि कार्यविधिमा सम्बोधन गरिएको छ ।
स्थानीय सञ्चारकर्मीको क्षमता अभिवृद्धि गर्नुका साथै वडा तहका सूचना र समाचार सर्वसाधारणमा पुग्न नगरको कार्यले सहयोग पुग्ने प्रेस चौतारी मोरङका सहसचिव कृष्णचन्द्र सुवेदी बताउनुहुन्छ ।
नगरबाट हाल रेडियो र अनलाइन न्युज पोर्टलमात्रै सञ्चालनमा रहेकोमा सो कार्यविधिमा छापा माध्यम र टेलिभिजन सञ्चालन गर्ने सञ्चारगृहलाई पनि समेटिने उल्लेख छ ।







