हरैंचाः सुन्दरहरैंचा नगरपालिका वडा नं १ मा रहेको हरैंचा मोडल इङ्ग्लिस सेकेण्डरी स्कुलको २२ औ वार्षिकोत्सव तथा अभिभावक दिवसमा विद्यालयकी शिक्षक र पूर्व विद्यार्थीलाई सम्मान गरिएको छ । शिक्षक पूजा साह र पूर्व विद्यार्थी रोशन झालाई सम्मान गरिएको हो । झा हाल भोजपुरको आमचोक गाउँपालिकाको स्वास्थ्य चौकी प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ ।
आइतबार भएको कार्यक्रमका प्रमुख अतिथि सुकुना बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले उहाँहरुलाई सम्मान गर्नुभएको हो । अधिकारीले हरैंचा मोडलले उत्पादन गरेको विद्यार्थीहरू अब्बल र क्षमतावान रहेको भन्दै प्रशंसा गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कार्कीले कार्यक्रममा अभिभावकको उपस्थितिले साथै अभिभावकले विद्यालयप्रति देखाएको चासोले विद्यालयको भविष्य उज्ज्वल रहने बताउनुभयो ।
विद्यालयका प्रिन्सिपल रुद्र थापाले विद्यालय अतिरिक्त क्षेत्रमा समेत अब्बल रहेको बताउनुभयो ।
विद्यालयले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम गर्नुका साथै खेलकुदलगायत विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।







