बेलबारीः प्रायःजसो साहित्यिक कृति विमोचन समारोहमा निःशुल्क विमोचित कृति बाँडिन्छ । छुटमा पुस्तक बिक्री गर्न राखिए पनि ज्यादै कम पुस्तक बिक्री हुन्छन् । तर मोरङको बेलबारी नगरपालिकास्थित बेलबारी बहुमुखी क्याम्पसमा बुधबार साहित्यकार केशु विरहीद्वारा लिखित ‘उपद्रष्टा हर्कमान तामाङ’ कृतिको लोकार्पण भने प्रमुख अतिथिलगायतले सो पुस्तक खरीद गरेर भएको छ ।
अनुसन्धान अक्षयकोष निर्माणार्थ केशु विरहीद्वारा प्रकाशित शोधमूलक कृति ‘उपद्रष्टा हर्कमान तामाङ’ को लोकार्पण कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी हुनुहुन्थ्यो । उहाँले लोकार्पण कार्यक्रममा सो कृति किन्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि, सभापति, विशिष्ट अतिथिहरूबाट कृति खरिद गरेर लोकार्पण गरिएको हो ।
बेलबारी साहित्य विकास समिति मोरङको आयोजना, बेलबारी बहुमुखी क्याम्पस तथा जुझारु मिडिया एन्ड रिसर्च सेन्टर, मोरङको सह आयोजनामा सम्पन्न कार्यक्रममा लोकार्पित कृतिमाथि डा. दीपकप्रसाद न्यौपानेले समीक्षा गर्नुभएको थियो । बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, भाषाविद् अमृतप्रसाद आचार्य, कवि तथा अन्वेषक अनिल पौडेल, मिश्र बैजयन्ती, डा. उद्धव पोखरेल, राजनीतिक तथा शैक्षिक व्यक्तित्व विनोद भण्डारी, ईरान राईलगायतका व्यक्तिहरूले अनुसन्धान अक्षयकोष अभियानको सफलताको शुभकामना दिनुभएको थियो ।
कृतिकार विरहीका अनुसार ‘उपद्रष्टा हर्कमान तामाङ’ अनुसन्धानपरक (शोधमूलक) कृति हो । अग्रज स्रष्टा तामाङको जीवनीलाई आधार बनाएर उक्त पुस्तक तयार गरिएको हो । पहिलो चरणमा बेलबारी बहुमुखी क्याम्पसमा अक्षयकोष स्थापना गर्ने र त्यसको ब्याजबाट अनुसन्धान गर्ने कम्तीमा एक जना विद्यार्थीलाई पुरस्कृत गरिने र दोस्रो चरणमा भने राष्ट्रियस्तरका अनुसन्धातालाई पुरस्कृत गर्ने गरी कोष खडा गरिने उहाँले बताउनुभयो ।
कार्यक्रमका सभापति रमेश निरौला, विशिष्ट अतिथिहरू बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, उपप्रमुख नितु थापा कोइराला, स्रष्टा एवम् पूर्व सांसद हर्कमान तामाङ, कवि एवम् समीक्षक मिश्र वैजयन्ती, भाषाविद् अमृतप्रसाद आचार्य (आचार्य अ.), भाषाविद् मेदिनीप्रसाद बराल, कवि तथा अन्वेषक अनिल पौडेल, राजनीतिक तथा शैक्षिक व्यक्तित्वहरू विनोद भण्डारी र डा. उद्धव पोखरेल, बेलबारीका अग्रज स्रष्टा ईरान राई, साहित्यका छवि वैरागी घिमिरे लगायतका विशिष्ट व्यक्तित्वहरूले कृति खरिद गरेर लोकार्पणमा कार्यक्रममा भाग लिनुभएको थियो ।
२००८ साल साउन २५ गते भोजपुरको बोखिममा जन्मिएका तामाङको बाल्यकाल भारतको दार्जिलिङमा बितेको थियो । दार्जिलिङमा विद्यार्थी राजनीति गरेका तामाङ नेपाल फर्किएपछि राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । उहाँले वि. सं. २०४८ र २०५६ सालको आमनिर्वाचन र २०५१ सालको उपनिर्वाचनमा मोरङको साविक क्षेत्र नम्बर ४ बाट चुनाव जित्नुभएको थियो ।
कृतिकार विरहीका यसअघि ‘कहाली लाग्दा गोरेटाहरू’ (उपन्यास –सह लेखन) २०५६, ‘आमाको माया’ (उपन्यास) २०५७, ‘सुस्केरा (सामूहिक सङ्कलन) २०६२, ‘दन्किएको आगो (गजलसङ्ग्रह) २०६३, ‘भास्कर वंशावली (वंशावली) २०६५, ‘सुलोचना (कथासङ्ग्रह) २०७१, ‘रेस्माको सेन्डल’ बालकथासङ्ग्रह (२०७७), ‘बेलबारीको साहित्यिक इतिहास’ (२०७९), ‘तेह्रथुमको साहित्यिक इतिहास’ (२०८०) प्रकाशित भएका छन् ।
केशु विरहीसँग सम्बन्धित थप समाचारहरूः
अनुसन्धान अक्षयकोष निर्माण गर्ने योजनामा लेखक केशु विरही
विरहीरचित बेलबारीको साहित्यिक इतिहासलाई पल्टाउँदा







