बेलबारीः लेखक केशु विरहीले आफ्नो कृति ‘उपद्रष्टा हर्कमान तामाङ’ को बिक्रीबाट प्राप्त भएको रकमले बेलबारी बहुमुखी क्याम्पसमा अनुसन्धान अक्षयकोष निर्माण गर्नुहुने भएको छ । आज बेलबारी बहुमुखी क्याम्पसमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो जानकारी दिनुभएको हो । सो कृति यही फागुन ७ गते विमोचन हुने भएको छ ।
लेखक विरहीले विद्यार्थीहरूमा अनुसन्धानप्रति अभिप्रेरणा जगाउने उद्देश्यले अक्षयकोषको अवधारणा अघि सारिएको बताउनुभयो । क्याम्पसले गर्ने अनुसन्धानका काममा विद्यार्थीलाई अभिप्रेरणा जगाउन अभियान शुरु गरिएको र बेलबारीका अग्रज स्रष्टा, शैक्षिक व्यक्तित्व, पूर्व सांसद हर्कमान तामाङको जीवनीमूलक कृति ‘उपद्रष्टा हर्कमान तामाङ’ नामक कृति प्रकाशित भएको, यही कृतिलाई बिक्रीबाट आएको ५० प्रतिशत रकम अक्षयकोष निर्माणमा खर्च गरिने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाले राजनीतिका आदर्श, शैक्षिक अगुवा, अग्रज स्रष्टा तथा पूर्व सांसदसमेत रहेका व्यक्तिको जीवनी लेखन स्वागतयोग्य काम भएको बताउनुभयो ।
बेलबारी बहुमुखी क्याम्पसका प्रमुख भुपेन्द्रप्रसाद कोइरालाले यस कार्यले विद्यार्थीमा अनुसन्धानप्रति आकर्षण पैदा गर्ने बताउनुभयो ।
यसपछिको आगामी योजना थप बृहत् योजना हुने र देशभरका अनुसन्धातामध्येबाट पुरस्कृत गर्ने गरी योजना बनाइएको लेखक विरहीले जानकारी दिनुभयो ।







