इटहरीः नयन एड्भरटाइजिङ मिडिया प्रालिद्वारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबरले आफ्नो स्थापनाको तेस्रो वर्ष प्रवेशको अवसर पारेर कृषि, बैङ्किङ, कर्पोरेट, शिक्षा, स्वास्थ्य, साहित्य, पत्रकारिता, खेलकुद, पर्यटन, युवा उद्यम, सामाजिक सेवा, सूचना तथा प्रविधि र स्टार्टअप विधाका १३ जनालाई कोशी एक्सिलेन्स अवार्ड प्रदान गरेको छ ।
बुधबार इटहरीको सोल्टी वेस्टेन्ड होटेलमा आयोजित कार्यक्रममा अवार्ड पाप्त गर्नेमा शिक्षा विधातर्फ प्रा.डा टंकप्रसाद न्यौपाने, स्वास्थ्य विधातर्फ डा. ज्ञानेन्द्रमान सिंह कार्की, पत्रकारितातर्फ विष्णु निष्ठुुरी, साहित्य विधातर्फ झमककुमारी घिमिरे, सामाजिक विधातर्फ गीता गौतम हुनुहुन्छ । कृषि तथा महिला उद्यम विधामा शान्ता बास्कोटा, खेलकुुद विधामा दिलीप राई, बैंकिङ विधामा ज्ञानेन्द्रप्रसाद ढुंगाना, पर्यटन विधामा भविष श्रेष्ठ, सूचना तथा प्रविधि विधामा राजन लम्साल, कर्पोरेट विधामा महेश जाजू, युवा उद्यम विधामा पारस लुनियाँ र स्टार्टअप विधामा आयुष भगतले अवार्ड पाउनुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अवार्ड प्रदान गर्नुभएको थियो । त्यस्तै, १२ जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेमा नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल सरकारका प्रथम महिला मुख्यसचिव लीलादेवी गड्तौला, श्रमजीवी नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अध्यक्ष भीमज्वाला राई, इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकमारी लिम्बू (दहाल), अग्रज पत्रकार गोविन्दचन्द्र क्षेत्री, शिक्षासेवी चन्द्र भण्डारी, टाइम्स पब्लिकेशनका पुरुषोत्तम दाहाल, नेपालका सबैभन्दा अग्ला व्यक्ति राजन अधिकारी र पर्यटन व्यावसायी सुनील भुसाल रहेका छन् ।
कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेड, माया घर नेपाल र नव दृष्टि आँखा अस्पताललाई पनि सम्मान गरिएको थियो ।







