विराटचोकः देशभर गत पुसको तुलनामा माघमा घरजग्गा कारोबारबाट प्राप्त हुने राजस्व सङ्कलनमा गिरावट आएको छ ।
घरजग्गा कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार माघमा ३ अर्ब ८७ करोड २४ लाख ८१ हजार ६४७ रुपैयाँ राजस्व सङ्कलन भएको छ । पुसमा ४ अर्ब २५ करोड २२ लाख २१ हजार ७७९ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । माघमा कुल ४६ हजार ५० हजार ६९ लिखत पारित भएको थियो । पुसमा त्यो सङ्ख्या ४८ हजार १५६ थियो ।
मङ्सिरमा ३ अर्ब ८७ करोड ४८ लाख २६ हजार ९७६ रुपैयाँ राजस्व प्राप्त भएको थियो ।
चालु आर्थिक वर्षको ७ महिनाको विवरणअनुसार राजस्व सङ्कलनमा सामान्य वृद्धि भएको छ । गत आवको सोही अवधिको तुलना चालु आवको ७ महिनामा राजस्व सङ्कलनमा झण्डै १४ प्रतिशतले वृद्धि भएको छ । चालु आवको माघ मसान्तसम्म कुल २४ अर्ब ७१ करोड बराबर राजस्व सङ्कलन भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । गत आवको सोही अवधिमा २१ अर्ब ६५ करोड बराबर राजस्व सङ्कलन भएको थियो ।







