विराटनगरः माघ ३० गतेदेखि शुरु भएको सुन्दरहरैंचा विराट एक्स्पो ४ मा गाईको गोबर र गहुँतबाट निर्मित सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ ।
स्टल नम्बर ७५ मा उन्नत गोठ प्रालि विराटनगरमा उत्पादित सामग्री बिक्री र प्रदर्शनीका लागि राखिएको हो । सो स्टलमा गोबरबाट निर्मित दियो, माला, श्रीयन्त्र, लक्ष्मीका पाउ, जलपात्र, अगरबत्ती, गमलाका साथै लिपपोतका लागि सहज होस् भनेर धुलो गोबर पनि बिक्रीका लागि राखिएको छ ।
नयाँ किसिमका सामान भएकाले उत्सुकताका साथ जानकारी लिने र सामान महङ्गो नभएकाले केही न केही खरीद गर्ने गरेको सञ्चालक बेबिना दाहाल बताउनुहुन्छ । दूध दिन छोडेपछि गाईलाई स्याहार नगर्ने र बेवारिसे छोडिदिने किसानको बानी अन्त्य गर्न आफूले थोरै भए पनि सहयोग गरेको उहाँ बताउनुहुन्छ ।
गाईको गोबर किनेर किसानलाई गाईपालनमा अभिप्रेरित गर्नुका साथै उद्योगमा महिलालाई काम दिन पनि आफूले नयाँ उद्योग सञ्चालन गरेको उहाँ बताउनुहुन्छ ।
१० दिनअघि विराटनगरमा सम्पन्न विराट एक्स्पोमा आफ्नो उद्योगबाट उत्पादित सामानको राम्रो बिक्री भएको र सुन्दरहरैंचामा पनि बिक्री हुने लक्ष्य राखेको उहाँ बताउनुहुन्छ ।









