विराटचोकः आज पनि नेप्सेमा गिरावट आएको छ । नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको छ ।
आज नेप्से परिसूचक १० दशमलव ९८ अंक घटेर २६७७.३२ अंकमा झर्दा कारोबार रकम पनि घटेको छ । हिजो ८ अर्ब ३९ करोडको शेयर किनबेच भएकोमा आज ३२२ कम्पनीको ७४ हजार ८६४ पटकको कारोबारमा ६ अर्ब ९६ करोड २ लाख ९२ हजार २३५ रुपैयाँको १ करोड ४४ लाख ४३ हजार ७६५ कित्ता शेयर किनबेच भएको छ ।
बजार घटे पनि आज न्यादी हाइड्रोपावर र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर १० प्रतिशत बढेको छ । हिजोदेखि दोस्रो बजारमा कारोबार हुन थालेको गार्डियनको शेयर भाउ हिजो पनि १० प्रतिशत बढेको थियो । आज बोटलर्स नेपाल (बालाजु) र उपकार लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज नेपाल रिपब्लिक मिडिया शीर्ष स्थानमा रहँदा २४ करोड ४४ लाख ७८ हजार ९९ रुपैयाँको शेयर किनबेच भएको छ । सिईडिबि होल्डिङ्गस, सप्तकोशी डेभलपमेन्ट बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल रिइन्स्योरेन्स उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।
अन्य र व्यापार उपसमूह बाहेक बाँकी ११ उपसमूहमा गिरावट आउँदा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २ दशमलव ०७ प्रतिशत घटेको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब ४४ अर्ब ५६ करोड १७ लाख ४० हजार ३४५ रुपैयाँ कायम भएको छ ।







