विराटचोकः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलमा १५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो ।
हिजो निगमले विज्ञप्ति जारी गरी आजदेखि लागू हुने गरी पेट्रोलमा १५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा १० रुपैयाँका दरले मूल्य बढाएको जनाएको हो ।
अमेरिका–इजरायल–इरान तनावबीच देखिएको अन्तर्राष्ट्रिय परिस्थितिका कारण मूल्य वृद्धि गर्नुपरेको निगमले जनाएको छ ।
मूल्य समायोजनपछि पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा र डिजेल–मट्टीतेलको मूल्य १४९ रुपैयाँ ५० पैसा कायम भएको छ ।
दोस्रो वर्गअन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोलको मूल्य १७१ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य १५१ रुपैयाँ पुगेको छ ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७२ रुपैयाँ पुगेको छ । ती क्षेत्रका ग्राहकले अब डिजेल र मट्टीतेल प्रतिलिटर १५२ रुपैयाँमा किन्नुपर्नेछ ।





