विराटचोकः नेपाल जेसीजको राष्ट्रिय अध्यक्षका लागि इन्द्रपुर जेसीजले उम्मेद्वारको तयारी गर्दै गर्नुपर्ने पूर्व राष्ट्रिय अध्यक्ष भोलेश्वर दुलालले बताउनुभएको छ । इन्द्रपुर जेसीजले मातृत्व प्रदान गरेका कतिपय शाखाले जेसीजको राष्ट्रिय अध्यक्षलगायतका अन्य पदाधिकारीमा नेतृत्व लिइसकेको भन्दै अब नेतृत्व लिने दिशामा इन्द्रपुर जेसीज लाग्नुपर्ने उहाँको सुझाव थियो ।
‘इन्द्रपुर जेसीजले सन् २०३० मा सन् २०२४ का शाखा अध्यक्ष उत्सव थापालाई राष्ट्रिय अध्यक्ष बनाउनुपर्छ’, इन्द्रपुर जेसीजको २३ औँ पदस्थापन समारोहलाई बुधबार सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘सन् २०३३ मा सन् २०२५ का शाखा अध्यक्ष आकाश दुलाललाई अध्यक्ष बनाउनुपर्छ ।’ त्यसको लागि देशभर अहिल्यैदेखि पूर्वतयारी थाल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँको भनाइलाई समर्थन गर्दै इन्द्रपुर जेसीजका पूर्व अध्यक्ष तथा सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले थापा र दुलाललाई राष्ट्रिय अध्यक्ष बनाउन अहिल्यैदेखि तयारी गर्दा सफल भइने बताउनुभयो ।
पूर्व राष्ट्रिय अध्यक्ष अशोक शङ्करले राष्ट्रिय अध्यक्षमात्रै होइन, अन्तर्राष्ट्रिय अध्यक्ष बन्नका लागि पनि इन्द्रपुर जेसीजले पहल शुरु गर्नुपर्ने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सन् २०२५ का लागि चयन भएका इन्द्रपुर जेसीजका अध्यक्ष आकाश दुलाल र इन्द्रपुर जुनियर जेसीजका अध्यक्ष आयुष अधिकारीको कार्यसमितिलाई पदस्थापन तथा शपथ ग्रहण गराइएको थियो ।
इन्द्रपुर जेसीजको पदस्थापनमा शिखरबास खबरका सम्पादकसहित ६ जनालाई अवार्ड प्रदान








