विराटचोकः प्रदेश सरकारसँगको सहकार्यमा सुन्दरहरैंचा नगरपालिकाले मौरीपालन प्रवर्धन कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाले मौरीपालनका लागि किसानलाई घारसहितको मौरी र त्यसका सहायक सामग्रीहरु वितरण गरेको छ ।
किसानको २५ प्रतिशत लागत सहभागितामा २५ लाख रुपैयाँ बजेटअन्तर्गत नगरपालिकाका २१ घर परिवारलाई २ सय ६ वटा स्थानीय सेरेना जातका मौरीसहित घार र सहायक सामग्री वितरण गरिएको कृषि शाखाका प्रमुख फणिन्द्र भट्टराई बताउनुहुन्छ । उहाँका अनुसार इच्छुक किसानलाई कार्यक्रममा सहभागिताका लागि आवेदन आह्वान गरी कृषक छनोट गरेर तलिमपछि घार, मौरी र सहायक सामग्री प्रदान गरिएको हो ।
नगर प्रमुख केदारप्रसाद गुरागाईँले नगर क्षेत्रमा हात्तीको आतङक बढ्दै गएकाले त्यसको नियन्त्रणका लागि समेत जङ्गल क्षेत्र आसपासका किसानलाई मौरीपालन गर्न जोड दिइने बताउनुभयो ।
कृषि शाखाका प्राविधिक सुदीप भण्डारीका अनुसार नगर प्रमुख केदारप्रसाद गुरागाईँ, उपप्रमुख अकली चौधरी, विभिन्न वडाका वडाध्यक्ष, कृषि शाखाका कर्मचारीलगायतको टोलीले नगरपालिकाले मौरी प्रदान गरेका किसानसँग आइतबार भेटघाट गरी आवश्यक परामर्श दिएको हो ।








