लेटाङः नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका जनप्रतिनिधिहरुको टोलीले लेटाङ नगरपालिकाको मैत्रीपूर्ण भ्रमण गरेको छ । सुनवल सामुदायिक विकास केन्द्रको आयोजना तथा युनाइटेड मिसन टु नेपालको सहयोगमा सामुदायिक संवाद, लैंगिक समानता र शान्ति प्रवर्धनका अभ्यासहरु अवलोकन तथा अनुभव आदानप्रदान कार्यक्रम अन्तर्गत सो टोली भ्रमणमा आएको हो । लेटाङ नगरपालिकाको कार्यसम्पादन अभ्यास बुझ्ने तथा अनुभव आदानप्रदान गर्ने उद्देश्य रहेको बताइएको छ ।
गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ताको नेतृत्वमा उपाध्यक्ष फातुमा खातुन अन्सारी र वडाध्यक्षहरुसहितको जनप्रतिनिधिको टोलीले लेटाङ नगरपालिकाको भ्रमण गर्ने क्रममा न्यायिक समितिले गरेका क्रियाकलाप तथा अनुभवहरुका साथै शान्ति निर्माणका लागि लेटाङमा भएका कामहरुको विषयमा जानकारी लिएको छ ।
भेटघाट र अनुभव आदानप्रदान कार्यक्रममा लेटाङका नगर प्रमुख भुपेन्द्रकुमार लावतीले लेटाङमा शान्ति निर्माणका क्षेत्रमा भएका कामहरु तथा लेटाङ १ मा बन्न लागेको अन्तरधार्मिक शान्ति पार्कको विषयमा र नगरउपप्रमुख कृष्णकुमारी निरौलाले न्यायिक समितिका गतिविधि र अभ्यासहरुबारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा बोल्दै पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ता र उपाध्यक्ष फातुमा खातुन अन्सारीले लेटाङ नगरपालिकाबाट आफूहरुले धेरै कुरा सिकेको भन्दै आफ्नो गाउँपालिका भ्रमण गर्न लेटाङका जनप्रतिनिधिहरुलाई निमन्त्रणा गर्नुभएको थियो ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्णराज राईले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडासदस्यहरुको उपस्थिति थियो ।







