विराटचोकः भारतको दार्जिलिङमा बस्ने नेपाली (गोर्खा)हरूले छुट्टै राज्यको माग गरी सन् १९८६ मा शुरू गरेको गोर्खाल्याण्ड आन्दोलनमा आधारित रहेर बनेको नेपाली चलचित्र बमबहादुर पुस ५ गतेदेखि नेपाल र भारतका सिनेमा हलमा प्रदर्शन हुने भएको छ ।
आइतबार इटहरीमा पत्रकार सम्मेलन गर्दै चलचित्रका निर्माता सञ्जीव सार्की, निर्देशक जोन राई, कलाकारहरू सौगात मल्ल, अनिसा रसाइली, शान्तिला सिंगर तामाङ, भाष्कर प्रधानलगायतले चलचित्रको बारेमा जानकारी दिनुभयो ।
ओख्ली ढिकी प्रोडक्सनले गोर्खा रङ्गमञ्च भवन दार्जिलिङमा चलचित्रको प्रिमियर शो आयोजना गरेको र नेपालमा पनि चाँडै प्रिमियर शो सार्वजनिक गरिने बताइएको छ ।
सो चलचित्रले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षलाई चित्रण गरेको बताइएको छ ।